
म्याग्दी । सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ ।
धार्मिक, सांस्कृतिक र जैविक महत्वले युक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको उचित व्यवस्थापन र संरक्षण नहुँदा जलसभ्यता सङ्कटमा पर्न थालेको हो ।
पवित्र कालीगण्डकी नदीको प्राकृतिक रूप पछिल्ला केही वर्षयता नासिँदै गएको छ । गङ्गाजल (नदीको पानी) पनि प्रदूषित हुँदै गएपछि नदीको निर्मलस्वरुप सङ्कटमा परेको सरोकार भएकाहरुले बताएका छन् । मुस्ताङको सदरमुकाम जोमसोमबाट म्याग्दीको सदरमुकाम बेनी हुँदै गुल्मीको रिडीसम्म पुग्दा कालीगण्डकीको निर्मल जलमा सहरबजारका ढल मिसाइँदा गङ्गाजल प्रदूषित बन्दै गएको कालीगण्डकी बचाउँ अभियानका अभियन्ता सागरजीवी उपाध्यायले बताउनुभयो ।
बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, ग्रेगर तथा वर्षेनी आउने बाढीपहिरोका कारण् पवित्र नदीको मौलिक स्वरुपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीहरुले बताएका छन् ।
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने त्यो ७६ किलोमिटर खण्डको विभिन्न ठाउँमा पहिरो गएर साँघुरो भएपछि सडक विस्तार गर्ने नाममा त्यहाँका ढुङ्गा र ग्रेगरहरु कालीगण्डकीमा खसाल्ने गरिएकाले नदी प्रदूषित बन्दै गएको अभियन्ता उपाध्यायले उल्लेख गर्नुभयो । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली खल्बलिँदै गएको उहाँको भनाइ छ ।
बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली खल्बलिएको वातावरण संरक्षणकर्मी हरि सिग्देलले बताउनुभयो । सर्वोच्च अदालतले नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको भए पनि यी कार्यहरु अझैसम्म नरोकिएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कट बढ्दै गएको उहाँको भनाइ छ ।
नदीले मौलिक धार परिवर्तन गर्दा बाढी र पहिरोको जोखिम बढ्नाका साथै तटीय क्षेत्रका बस्तीहरु थप जेखिममा पर्दै जान थालेका छन् । नदी साबिकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताउनुभयो । उहाँका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढी, पहिरो र नदी कटानको जोखिम उच्च रुपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न÷नगराउन सर्वोच्च अदालतले दुई वर्षअघि विसं २०७९ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न÷नगराउन मन्त्रिपरिषद्को कार्यालय समेतलाई अन्तरिम आदेश दिएको हो ।
यस्तो छ कालीगण्डकीको महत्व
कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदी मात्र नभई सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रुपमा रहेको विषयलाई कसैले बिर्सन नहुने सरोकार भएकाहरुको भनाइ छ ।
राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । ‘विश्वको एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान छ । हिन्दूहरुको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास अहिले पनि प्रचलनमा छ’ उहाँले भन्नुभयो ।
कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभई पशु, पक्षी, किट, पतङ्गदेखि मानव जातिलाई समेत सेवा पु¥याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । ‘कालीगण्डकीको धार्मिक महत्व अवर्णनीय छ । यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्व पनि कम छैन’ उहाँले भन्नुभयो ।
कालीगण्डकीको मुक्तिनाथबाट देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यस नदीबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालको सबैभन्दा ठूलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा रहेको छ ।
‘माछापुच्छ्रे गिरि शिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
काली गङ्गा भनन कसरी कुँद्छ्रयौ शालिग्राम ?’
राष्ट्रकवि माधवप्रसाद घिमिरेले कालीगण्डकीलाई शालिग्राम कसरी कुद्छ्यौ ? भनी प्रश्न गरेर लेख्नुभएको यो कवितांशमा कालीगण्डकीको महिमा झल्किएको पण्डित पराजुलीले उल्लेख गर्नुभयो । शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाममा मानवीय प्रहार हुन थालेपछि पवित्र नदीको सभ्यता र अस्तित्व दुवै सङ्कटमा परेको स्थानीय बताउँछन् ।
नदीको संरक्षण गरी जलसङ्कट अन्त्य गर्न तीनै तहका सरकारत नीति र योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उहाँहरुले जोड दिनुभभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गयो
- रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई थुन्न आदेश
- ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
- नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः प्रधानमन्त्री मोदी
- जनमोर्चाले गणतन्त्र र राष्ट्रियता रक्षाको लागि अभियान थाल्ने
- भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली
- गृहमन्त्रीको राजीनामा माग गर्दै राप्रपाद्वारा प्रदर्शन
- ‘देश र जनताको सेवामा रातदिन खटिँदा पनि मलाई बर्खास्त गरियो’
- हावाको गतिले घटायो वायु प्रदूषण
- बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न