+

सद्भावको पर्व यार्तुङ

मनाङ ।  हिमाली जिल्ला मनाङमा सद्भावको पर्वका रुपमा यार्तुङ अर्थात् घोडेजात्रा मनाइन्छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत शुरुवात गरिन्छ ।

माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यो पर्व मनाइन्छ । माथिल्लो मनाङमा यार्तुङ पर्व पाँच दिनसम्म मनाउने गरिन्छ । विशेषगरी लामाले नाचेर पर्व मनाउने गरिन्छ । मनाङ ङिस्याङका सबैले खेती रोपिसकेपछि यार्तुङ पर्व मनाइन्छ । मनाङवासीले घोडालाई भगवान्का रुपमा पुज्ने गर्दछन् । यो खेतीपाती लगाउने याम सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रुपमा पुजिने पर्व हो । 

घोडालाई मनाङमा महत्वपूर्ण साधनका रुपमा लिइन्छ । यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन गर्ने मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङदुङ गुरुङले बताउनुभयो । ‘वर्षा याममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको महत्व तथा विशेषता हो’ उहाँले भन्नुभयो । यसले यहाँ आउने पर्यटकलाई आकर्षित गर्छ । यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउन टेवा पुगेको उहाँको भनाइ छ ।  

यार्तुङ पर्वका माध्यमबाट गाउँ, समाज र व्यक्तिबीच एकापसमा सामाजिक सद्भाव कायम हुने मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताउनुभयो । मनाङ गाउँबाट मनाउन शुरु भएपछि मात्रै अन्य स्थानमा यार्तुङ सुरु गर्ने चलन रहेको छ । ‘पहिलाको तुलनामा यार्तुङमा युवाको सहभागिता कम हुँदै गएको छ’ उहाँले भन्नुभयो । तर पनि निरन्तरता मनाङवासीले दिइरहेकै छन् । सामाजिक मूल्यमान्यताको पर्वलाई लोप हुनबाट जोगाउने प्रयास गरिरहेको उहाँको भनाइ छ । 

मनाङ गाउँबाट शुरु हुने यार्तुङ तल्लो मनाङमा मनाउने चलन हटेको स्थानीय बताउँछन् । यस पर्वतर्फ पर्यटकको आकर्षण बढ्दो छ । जसले गर्दा यस पर्वलाई संरक्षण तथा निरन्तता दिनुपर्ने देखिन्छ । मनाङका वेषभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु मनाङीको कर्तव्य हो । यस संस्कृतिका माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्ने उहाँहरुको बुझाइ छ ।

मनाङमा घोडा वर्षेनी घट्दै गएको वडाध्यक्ष गुरुङले बताउनुभयो । ‘पहिला घरघरमा दुई÷तीन वटा घोडा पालिन्थ्यो । हरेक सामान ढुवानी तथा यातायातमा घोडाको प्रयोग गरिन्थ्यो । अहिले सवारीसाधन आएपछि घोडाको प्रयोग घट्दै गएको छ । घोडापालन नै घट्दै गएको पाइन्छ । यसको कमी यार्तुङ पर्वमा प्रत्यक्षरुपमा देखिन्छ’ उहाँले भन्नुभयो । 

सडक नपुगेको अझै पनि घोडा नै प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमिमा सडक पुगेको छैन । पछिल्लो समय घोडा पाल्ने क्रम घटे पनि सडक नपुगेका स्थानमा घोडाको नै प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको तिलिचो ताल, अन्नपूर्ण पदमार्गअन्तर्गतको (५४१६ मिटर) थोराङ्ला भञ्ज्याङ जान चाहने पर्यटकलाई पुर्याउन घोडाको नै प्रयोग गरिन्छ । हिँड्न नसक्ने यात्रुलाई घोडाका माध्यमबाट तिलिचो ताल, थोराङ्ला भञ्ज्याङसम्म पुर्याउने गरिएको छ । 

हालसम्म सडक सञ्जाल नपुगेको नार्पाभूमि गाउँपालिकाका बासिन्दाको मुख्य सवारीसाधन घोडा नै हो । ‘सामग्री ढुवानी तथा आवतजावतका लागि स्थानीयले घोडाको प्रयोग गर्ने गर्छन्’ वडाध्यक्ष गुरुङले भन्नुभयो । यहाँका स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडीबुटी सङ्कलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान घोडाको प्रयोग गर्दै आएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट