झापा । कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरुको भनाइ छ ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६ र ७७ मा १ सय ७८ हेक्टर, आव २०७७ र ७८ मा दुई सय चार हेक्टर, आव २०७८ र ७९ मा ३ सय हेक्टर, आव २०७९ र ८० मा ३ सय हेक्टर र आव २०८० र ८१ मा सय ७० हेक्टर क्षेत्रफलमा कागतीखेती भएको बताउनुभयो । आव २०७९र८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ ।
उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०८० र ८१ मा १ हजार ४ सय ८ मेट्रिक टन कागती उत्पादन भएको छ । उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ७५ मेट्रिक टन रहेको छ । ‘जिल्लाको माग धान्ने गरी उत्पादन हुने गरेको छ’ उहाँले भन्नुभयो, ‘किसानहरु बिक्रीमा समस्या आएको बताउनुहुन्छ । बजारीकरणका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ ।’
सरकारले कागतीखेतीलाई प्रोत्साहित गर्ने नीति ल्याएपछि किसानले धान खेत मासेर कागतीका बिरुवा रोपेका थिए । तत्कालीन कृषि विकास कार्यालयले तालिम, बिरुवा र मल दिने नीति ल्याएको थियो । पछि कृषि ज्ञान केन्द्रले कागतीमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ थप प्रोत्साहनका कार्यक्रमहरु ल्यायो । कागतीखेतीमा होमिएका किसानले बिरुवा, मल र सीप पाए पनि उचित बजारको व्यवस्था सरकारले गर्न नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समय किसान साना गाडी लिएर गाउँ गाउँमा कागतीका पोका बेच्दै हिँड्न बाध्य छन् ।
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८० र ८१ मा ६ करोड २७ लाख २० हजार रुपैयाँको ८ सय ९६ मेट्रिक टन कागती भारतबाट भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । ‘चियाका बोट मासेर कागतीको व्यावसायिक खेती थालेको थिएँ’ विर्तामोड–६ का कमलराज बिमलीले भन्नुभयो– ‘शुरुमा त राम्रो फल्यो र आम्दानी पनि राम्रै पाइयो तर पछिल्लो समय रोगले बोट मास्न थाल्यो । भारतबाट सस्तो मूल्यमा भित्रिने कागतीले स्थानीय उत्पादनको बजार खर्लप्पै खान थालेको छ ।’ कागतीको बोटमा टुप्पो सुक्ने प्रकोप देखापरेको उहाँले बताउनुभयो । एक वर्षमा कागतीका ४ सय बोट सुकेर मरेको उहाँको भनाइ छ ।
झापामा कम्तीमा ३ सय किसानले कागतीको व्यावसायिक खेती गर्दै आएका छन् । केही सहकारी संस्थाले आफैँ र आफ्ना सदस्यलाई पनि यस खेतीमा लगाएका छन् । झापामा सुन–१, सुन–२, मद्रासी, युरिका र एनपीआरपी–५५ जातको कागतीखेती हुँदै आएको छ । कागतीको उत्पादन बढेपछि यसलाई कच्चापदार्थका रुपमा प्रयोग गर्ने अचार र जुस लगायत ठूला उद्योग स्थापना नहुँदा किसानले सोचेजस्तो आम्दानी लिन सकेका छैनन् ।
बुद्धशान्ति गाउँपालिका–२ का रामप्रसाद उप्रेतीले एक बिघा जमिनमा लगाएको कागतीले विगत चार वर्षदेखि उत्पादन दिइरहेको छ । वार्षिक ५ लाखको कागती बेच्दा आधा रकम नाफा हुने उहाँले बताउनुभयो । ‘आम्दानी नै नहुने खेती त होइन’ उप्रेतीले भन्नुभयो– घधानखेतीको तुलनामा दश गुणा बढी आम्दानी हुँदोरहेछ तर अहिले बजार पाउन गाह्रो हुँदै गयो ।’ उहाँले कागती बारीमा सुपारीखेती गरेर थप आम्दानी लिनुभएको छ । दुईजनालाई बाह्रै महिना कामदारका रुपमा रोजगारी दिनुभएका उहाँले बोटबाटै प्रतिगोटा ३ रुपैयाँ मा व्यापारीले कागती किन्ने गरेको बताउनुभयो । धान र अरू खेतीमा जस्तो खर्च ज्यादा नहुने भएकाले कागती सहज रुपमा बिक्री हुने वातावरण बन्ने हो भने फाइदै फाइदा हुने उहाँको अनुभव छ ।
सिजन अनुसार मल, सिँचाइ, गोडमेल र फल टिप्दा स्थानीयले थप रोजगारी प्राप्त गरेका छन् । मेचीनगर, बुद्धशान्ति, विर्तामोड, अर्जुनधारा र गौरादह कागती खेतीका लागि उर्वर पालिका बनेका छन् । कचनकबल–२ का जगदीश राजवंशीले बजार र प्रकोपबाट पीडित भएर कागतीखेती मास्न बाध्य भएको बताउनुभयो । उहाँको खेतमा हजुरबुबाको पालादेखि कागतीखेती हुने गरे तापनि व्यावसायिकखेती भर्खर गरिएको थियो । ‘दुई वर्षअघि ठूलो हावाहुरी र असिनाले क्षति पु(याएपछि कागतीखेती मास्नु पर्यो’ उहाँले भन्नुभयो– ‘किसानको क्षति हुँदा क्षतिपूर्ति दिने ठाउँ हुँदोरहेनछ । मैले कागतीबाट राम्रै आम्दानी पाएको थिएँ ।’
जमिनको सतहबाट दुई मिटरसम्म चट्टान नभएको, पानी नजम्ने, प्रशस्त प्राङ्गारिक पदार्थ भएको पिएच ५ दशमलव ५ देखि ६ दशमलव ५ सम्म भएको दोमट माटो कागतीखेतीका लागि सबैभन्दा उयपुक्त मानिन्छ । पछिल्लो समय कागतीका बोटमा डाँठ पहेँलो हुने, पातमा कालो दाग आउने, जरा कुहिने र हाँगा सुक्ने लगायतका रोगले आक्रमण गरेको किसान रामप्रसाद उप्रेतीको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते