+

जितेन्द्रको सपना त्रिशूलीमै बग्यो

सर्लाही ।  गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुप-यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ । 

सर्लाहीको रामनगर गाउँपालिका–३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोही घटनामा विलीन भयो । परिवारका अनुसार जितेन्द्र गाउँकै अर्का ९हाल बेपत्ता० साथी रामा दाससँगै वैदेशिक रोजगारको तयारीमा थिए । उनी म्यानपावर कम्पनीले विदेश जानुपूर्व गरिने स्वास्थ्य परीक्षण गर्न बोलाएपछि असार २४ गते मात्र काठमाडौँ पुगेका थिए । स्वास्थ्य परीक्षण गरी घर फर्कंदै गर्दा असार २८ गते झिसमिसेमा उनी सवार बस पहिरोमा परेर त्रिशूलीमा खसेको थियो । 

जितेन्द्रले २७ गते साँझ ७ बजेतिर आफू घर आउँदै गरेको परिवारलाई जानकारी गराएका थिए । परिवारसँगको त्यही संवाद जितेन्द्रको अन्तिम संवाद बन्यो । ८ वर्ष पहिला पनि उनी वैदेशिक रोजगारीका क्रममा तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् । २८ वर्षका उनको श्रीमती दुई छोरी र एक छोरा छन् । 

आर्थिक सङ्कटबाट गुज्रिरहेको जितेन्द्रको परिवारमा यस घटनाले ठूलो बज्रपात गराएको छ । पाँच धुर घडेरीमा बनेको फुसको घरमा उनका बुबा, ठूलोबुबा र आफ्नो समेत गरी १७ जनाको परिवारले मुस्किलले ओत लागेको छ । भतिजोले विदेशबाट कमाएर परिवार पाल्छु भनेको ठूलो बुबा सरपलाल महरा सम्झन्छन् । 

पीडित परिवार अझै उनीहरु फर्किने आशमा बसिरेका छन् । बेपत्तामध्ये बरहथवा नगरपालिका–३, माझी टोलाका १८ वर्षका रमित कुशवार माझी र जितेन्द्र रामको मात्र शव फेला परेको हो । रामनगर गाउँपालिका–३, का रामा दास र कविलासी नगरपालिका–८, का रवीन्द्र साहको अझै अत्तोपत्तो छैन् । यतिका दिन भइसक्दा समेत फेला नपरेका उनीहरु जीवित फेला पर्ने परिवारले आश मारिसकेका छन् । 

बेपत्ता रामा दासको बुबा शुक्रबार मात्र मलेसियाबाट चितवन आएर छोराको लास भेटिने आशमा कुरिरहेका छन् । उनी १० वर्षदेखि मलेसियामा रोजगारीको सिलसिलामा हुनुहुन्थ्यो भने उनका दाजुसमेत वैदेशिक रोजगारीको लागि मलेसियामै छन् । गाउँघरमा ट्र्याक्टर जोत्ने लगाएको काम गर्ने रामा पनि पछिल्लो समय राम्रो कमाईको लागि भन्दै वैदेशिक रोजगारीको तयारीमा थिए । 

उनलाई मेनपावर कम्पनीले कागजात मिलाउन भन्दै काठमाडौँ बोलाएको आमा बताउनुभयो । घटनाको जानकारी पाए लगत्तैबाट मुर्छा पर्नुभएकी उहाँले मलीन अनुहारमा छोराको लासमात्र भए पनि खोजी दिन आग्रह गर्नुभयो । दैनिक ज्याला मजदुरी गरेर हातमुख जोर्दै आएको परिवार जितेन्द्रको मृत्युपछि थप सङ्कटमा परेको छ ।

बरहथवा नगरपालिका–३, रमित कुश्वार माझीको परिवारमा पनि आँखा ओभानो छैन । परिवारका जेठा छोरा गुमाउनु पर्दा असह्य पीडा भएको बुबा रवीन्द्र कुश्वार माझीले बताउनुभयो । गाउँमा मेलापात गरेर बसिरहेका रमित गत तिहार पछिमात्र साथीको पछि लागेर काठमाडौँ गएका थिए । त्यसपछि पनि उनी धेरै पटक घर आउनेजाने गरेका थिए । त्यस दिन पनि गाउँमा आफन्त पर्नेको विवाहमा सरिक हुन भनेर रमित बस चढेका थिए ।

शुरुमा सर्लाहीका लागि टिकट काटेका कविलासी नगरपालिका–८, निवासी २४ वर्षका रवीन्द्र साहलाई पनि काउन्टरवालाले रौतहटको बसमा चढाई दिएका थिए । रवीन्द्रका परिवार अझै बेहोसमै बरबराइरहेका छन् । परिवारका केही सदस्यले चितवनको अस्पताल कुरेको हप्तादिन बढी भइसक्यो । यता सास वा लासको अत्तोपत्तो नहुँदा परिवारमा थप पीडा भएको छ ।  

गत असार २८ गते झिसमिसेदेखि एकनासले सामाजिक सञ्जालमा पहिरोसँगै त्रिशूलीमा बस खसेको समाचार आइरह्यो । जितेन्द्रको परिवारको कानमा पनि उक्त घटनाको सूचना प¥यो । पहिले उनीहरु अन्योलमा परे । पछि सोधीखोजी गर्दा जितेन्द्र सवार बस पनि खसेको पुष्टि भयो । 

घरमा रुवावासी शुरु भयो । के गर्ने न कसो गर्ने अन्योलबीच जितेन्द्रका ठूलोबुबा सरपलाल महरा चितवन दुर्घटनास्थलतर्फ लागे । घटनाको दोस्रो दिन जितेन्द्रको शव त्रिशूलीमा फेला परेको खबर उनले पाए । लगत्तै उनीहरु लास राखेको भरतपुर अस्पताल पुगे । दुई दिनसम्म पानीले ढाडिएको लास चिन्न गाह्रो हुने अवस्था भइसकेको थियो । 

जितेन्द्रको हुलियासँग मिल्दोजुल्दो हुलियाको रौतहटकै एक युवकको समेत ‘रेकर्ड’ भएपछि प्रहरीलाई समेत शव चिन्न गाह्र्रो भयो । त्यसपछि उताको समेत परिवारलाई प्रहरीले अस्पताल झिकायो । त्यसबेला जितेन्द्रका ठूलोबुबाले आफ्नो भतिजो र रामा दासले २७ गते राति बनाएको अन्तिम टिकटक भिडियो प्रमाणका रुपमा पेश गरे । 

प्रहरीले समेत भिडियोमा भएको कपडा तथा जुत्ताबाट जितेन्द्रको शवको एकीन सनाखत गर्यो । प्रहरीले शव दिएपछि उनलाई अर्को आपत् आइलाग्यो । भतिजोको शव ल्याउन शववाहनले  १७ हजार रुपैयाँ मागेपछि उनी छाँगोबाट खसेजस्तै भए । गोजीमा एक बोतल पानी किन्ने पैसा नभएका उनका लागि त्यति ठूलो रकम पहाड बनेर उभियो । शवसँगै बसेर रुँदै गुहार मागेको सरपलाल बताउनुहुन्छ । एक व्यक्तिले शव वाहनलाई सर्लाहीसम्म आइपुग्नका लागि तेल हाल्न भनेर ८ हजार रुपैयाँ दिएपछि उनी रातारात भतिजोको शव लिएर सर्लाही पुगेका थिए । अब काजकिरिया कसरी गर्ने ? चिन्ताले परिवारलाई सताएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट