
मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ । कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ ।
हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन् । ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका छन् । उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन् ।
उक्त कार्यालयका प्रमुख भोजराज बिराडीका अनुसार कोरोना महामारीपछि परेकोे आर्थिक तथा व्यावसायिक मन्दीको प्रभाव यहाँका उद्योगमा परेको छ । आर्थिक मन्दीले सञ्चालन नभएका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु गरिएको छ ।
कार्यालयका प्रमुख बिराडीले सम्झौता गर्ने एवं जमिन ओगट्ने काममात्र भएको तर उद्योग सञ्चालन नभएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । केही उद्योगको सम्झौता खारेज गर्दा कार्यालयविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर पनि भएका उहाँले बताउनुभयो ।
औद्योगिक क्षेत्रमा स्थापना भएका एक सय ४७ मध्ये एक सय १५ विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । ९ उद्योग बन्द भएका तथा २३ वटा निर्माणाधीन छन् ।
उद्योगको अवस्था दयनीय भएकाले भाडा तिर्न समस्या परेको उद्योगीहरूको गुनासो छ । यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिक मन्दीले उद्योगहरूको अवस्था नाजुक भएको उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू बताउँछन् ।
“अहिले मन्दी छ, पसल खाली हुँदै गएका छन्, उत्पादित सामान बिक्री हुँदैनन्, यो गम्भीर समस्या हो । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र उद्योगमा थप लगानी गर्न बैंकले ऋण दिँदैन,” हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भन्नुभयो ।
औद्योगिक क्षेत्रमा निर्माण सामाग्री उद्योग पाँच, प्लाष्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग छवटा, इन्जिनीयरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र अन्य उद्योगतर्फ १० उद्योग छन् ।
यी उद्योगमा पाँच हजार मजदुरले रोजगारी पाएका छन् । विसं २०२० मा स्थापना भएको औद्योगिक क्षेत्र तीन हजार दुई सय २८ रोपनीमा फैलिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन