
इलाम । इलाम क्षेत्र नम्बर २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् ।
प्रतिनिधिसभा सदस्यको लागि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गएको भदौ २५ गते निधनभएपछि रिक्त स्थानपूर्तिको लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
इलाम नगरपालिका–८ महमाईका कुबेर राईलाई उपनिर्वाचनकोे चहलपहलले उत्साहित बनाएको छ । ‘सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या सङ्घीय संसदमा उठाउने जनप्रतिनिधि पाउन सकेका छैनौँ’ उहाँले भन्नुभयो, ‘हाम्रा समस्याको उठान गर्ने प्रतिनिधिको खोजीमा छौँ ।’
सन्दकपुर गाउँपालिका–३ का विशाल ढकालले उपनिर्वाचनपछि सात महिनादेखि सङ्कलन गरेर राखेका गुनासा नयाँ नेतृत्वलाई सुनाएर समाधान माग्ने बताउनुभयो । ‘अहिले घरघरमा आएर सबै उम्मेदवार भोट माग्दै हुनुहुन्छ । हामी सबैलाई मत दिन्छौँ भनिरहेका छौँ । तर योग्य उम्मेदवारलाई इलामवासीले चुन्छन्’ उहाँले भन्नुभयो– ‘हाम्रा गुनासा र समस्याका चाङ छन् । समाधान गर्न निर्वाचित प्रतिनिधिलाई दबाब दिन्छौँ ।’
फाकफोकथुम गाउँपालिका–४ का रघुनाथ भण्डारीले सडक, स्वास्थ्य, शिक्षा र कृषिमा परिवर्तन ल्याउन सक्ने उम्मेदवार छनोट गर्ने सोचमा रहेकोे बताउनुभयो । ‘सडकको मर्मत छैन, कृषिमा अनुदान छैन, राम्रो अस्पताल र गुणस्तरीय शिक्षा पाउन सकेका छैनौँ । अब निर्वाचित हुने प्रतिनिधिले हाम्रा यी माग सम्बोधन गर्नुपर्छ ।’
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) का साझा उम्मेदवार सुहाङ नेम्बाङ, नेपाली कांंग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बू चुनावी मैदानमा हुनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदूर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मङ्गोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
स्वतन्त्र उम्मेद्वारहरु क्रमशः डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल हुनुहुन्छ । उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
इलाम–२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा ८ सय ९४ कर्मचारी परिचालन हुनेछन् । निर्वाचन आयोगका अनुसार चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ । चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन