
महोत्तरी । महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ ।
सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिका सदस्यले कारागार प्रशासनसहितको सहभागिता भएको अनुगमनमा महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय पाइएको बताएका छन् ।
समितिका सदस्यद्वय प्रतिनिधिसभा सदस्य नगिना यादव र गोमा लाभ सापकोटा, समितिको सचिवालयका अधिकृत प्रवीण राईसहितको टोलीले बिहीबार कारागारको अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र कारागार प्रशासनको सहभागितामा अनुगमन गरिएको सांसद यादवले बताउनुभयो ।
‘कारागारमा क्षमताभन्दा चौब्बर बढी कैदी÷थुनुवा राखिएका रहेछन्, सुत्न, बस्न निकै सकस रहेछ’ सांसद यादवले भन्नुभयो– ‘कोल्टे फेर्न पनि नपाइने गरी कैदी/थुनुवा बसेका रहेछन्, कारागारको अवस्था अत्यन्त दयनीय देखियो ।’ एक सय ३५ कैदी/थुनुवा राख्ने क्षमताको कारागारमा अहिले पाँच सय ८४ जना रहेका कारागार प्रशासनले जनाएको छ । केही साता पहिले कैदीथुनुवाको सङ्ख्या ६ सय माथि रहेको अभिलेखले देखाएको उहाँले बताउनुभयो । कारागारमा पठनपाठन, खेलकुद र मनोरञ्जनको कुनै सुविधा छैन । औषधोपचार पनि चाहिएका बेला पाउन नसकिएको कैदी/थुनुवाले बताएका सांसद यादवको भनाइ छ ।
पुरानो भवनका इँटा झर्ने, छत उप्केर टुक्रा झरिरहने क्रमले बसाइ जोखिमपूर्ण देखिएको अर्का सदस्य सापकोटाले बताउनुभयो । विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा निर्माण गरिएको भवनमा कारागार सञ्चालन छ ।
‘जीर्ण भवन कतिबेर ढल्छ भन्ने त्रास जतिखेर पनि रहेछ, कतै पर्खालका इँटा झर्छन्, कतै छतको प्लास्टर उप्किएर झर्दो रहेछ छ’ सांसद सापकोटा भन्नुहुन्छ– ‘जतिखेर पनि कैदी/थुनुवा त्रासमा रहने गरेका पाइयो ।’ सरकारले सबैभन्दा पहिले सुरक्षित कारागार भवनको व्यवस्था गर्नुपर्ने सांसद सापकोटा बताउनुहुन्छ ।
कारागारमा दिसापिसाब र नुवाइधुवाइका लागि पालो पर्खनु पर्छ । सरसफाइको कमीले अधिकांश कैदी/थुनुवामा चर्मरोगको समस्या छ । धनुषा जिल्लामा कारागार नहुँदा त्यहाँको चापले यहाँ कैदी/थुनुवा बढेका कारागार प्रशासनले जनाएको छ ।
कूल कैदी/थुनुवामध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै रहेका कारागार कार्यालयका सूचना अधिकारी रविनचन्द्र ठाकुर बताउनुहुन्छ । कारागारको जलेश्वरमा ६ बिघा ११ कट्ठा जग्गा भए पनि त्यस ठाउँमा नयाँ कारागार भवन निर्माण हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन