
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गो (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गो सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्नुभएको छ ।
सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गो सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताउनुभयो । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गो साग लगाउन थालेको उहाँले बताउनुभयो । “चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “ चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ ।”
महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सफल हुनुभएको छ । माघमा मात्र पहिलो लट काटिएको सागबाट ८० हजाररुपैयाँ भन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताउनुभयो । मङ्सिरमा लगाएको पालुङ्गो साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गो सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाँले जानकारी दिनुभयो ।
“यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “पालुङ्गो सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ ।” गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गो सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताउनुभयो ।
“यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ । यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ”, उहाँले भन्नुभयो । खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गो साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन् । छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोलेसाग पनि भन्ने गरिएको किसान थारूले बताउनुभयो । “कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ”, उहाँले भन्नुभयो ।
पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गो सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा