+

स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह

जनकपुर ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।


आज जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उहाँले जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र ल्याउन गरेको सङ्घर्षको स्मरण गर्दै स्व मिश्रको सालिक निर्माण रोक्ने कार्य कुनै पनि हालतमा राम्रो नभएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित गङ्गासागर पोखरी पूर्वतर्फको डिलमा स्वर्गीय मिश्रको सालिक निर्माणकार्य सुरु हुँदा स्थानीय केही व्यक्तिले विरोध जनाएका छन् । सालिक निर्माण हुने जमिन स्वर्गीय मिश्र परिवारकै रहेकाले त्यस कार्यमा अवरोध नगर्न नेता निधिले आग्रह गर्नुभयो । 

नेपाली कांग्रेसका नेता प्रफुल्लराज घिमिरेले स्वर्गीय मिश्रको सालिक निर्माणमा गलत राजनीति नगर्न तथा उहाँको योगदानको कदर गर्न सबैलाई आग्रह गर्नुभयो । 

स्वर्गीय मिश्र विसं २०१५ मा भएको निर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाबाट निर्वाचित भई बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योगमन्त्री हुनुभएको थियो । उहाँका पालामा जनकपुरधामको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना, बाँसबारी छाला उद्योगसहितका दर्जनौँ उद्योग स्थापना भएको बताइन्छ । 

विसं २०१७ पुस १ गते राजा महेन्द्रले पञ्चालयती व्यवस्था सुरु गरेपछि मिश्रलाई पनि लामो समयसम्म जेलमा बन्दी बनाइएको थियो । उहाँको विसं २०२७ पुस ६ गते निधन भएको थियो ।

हाल सालिक निर्माण गर्ने भनिएको स्थलमा प्रत्येक वर्ष उहाँको पुण्यतिथि मनाउने गरिएको छ । 

यहाँ सालिक निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले बजेट विनियोजन गरी कार्य अगाडि बढाएको नगरप्रमुख मनोजकुमार साहले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै