
बाँके । नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।
गाभर मिनी भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार चैत लागेपछि तीन हजारभन्दा बढी आन्तरिक पर्यटक होमस्टेमा आइसकेका छन् । गाभर होमस्टे प्राकतिक सौन्दर्य र वन्यजन्तु अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बन्दै गएको छ । यहाँ आउने पाहुनालाई गाडी र हात्तीमार्फत बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि जङ्गल सफारीसमेत गराउने गरिएको छ ।
बाँके निकुञ्जसँगै जोडिएको कोहलपुर नगरपालिका–१३ स्थित खड्कवार होमस्टेमा पनि अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष लालबहादुर रानाले बताउनुभयो ।
उहाँले अरु बेला सुनसान रहे पनि अहिले नयाँ वर्षका अवसरमा नेपालगन्जलगायत बाहिरी जिल्लाबाट घुम्न आउने पाहुनाको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले बास बस्न आउने पाहुनालाई निकुञ्जसँग समन्वय गरेर हात्तीसफारीमार्फत वन्यजन्तुको अवलोकन गराउने गरिएको बताउनुभयो ।
दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ सांस्कृतिक नाच देखाउने गरिएको छ । संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ । पर्यटकका लागि सुविधा थपेपछि आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको रानाको भनाइ छ ।
बाँकेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा अन्य बेलाभन्दा अहिले बाँके निकुञ्ज घुम्न आउने पर्यटकले चहलपहल बढ्दै गएको ७ नम्बर होमस्टे सञ्चालक शोभी थारूले बताउनुभयो । होटल व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले यतिबेला पर्यटकीय मौसम भएकाले बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताउनुभयो ।
‘अहिले विद्यार्थीको परीक्षा सकिएको, कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन्’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई खुल्लापत्र
- ‘कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो’
- ‘विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ’
- वाग्द्वार स्नान मेलामा भक्तजनको घुइँचो
- एमाले सचिवालय बैठक शुरु
- विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
- ‘सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त’
- ‘समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक’
- ‘उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार’
- नववर्ष २०८२ प्रारम्भ, हर्षोल्लास साथ मनाइँदै