+

धार्मिक पर्यटनले गाउँ– शहरलाई जोड्दै

नेपालगञ्ज ।  धार्मिक पर्यटनले बाँकेका गाउँ र शहरलाई जोड्दै गएको छ । डुडुवा गाउँपालिका–४ राप्ती नदीस्थित १०८ शिवलिङ्ग विश्वम्भर महादेव मन्दिरमा हरेक शुक्ल पूर्णिमाका दिन मासिक रुपमा महाआरती शुरु गरेपछि यसले धार्मिक पर्यटनलाई जोडेको छ । 

नेपालगञ्जको बागेश्वरी मन्दिरमा आउने भक्तजनलाई महादेव मन्दिरमा दर्शन गराएर उनीहरुको बास बस्ने समय लम्बाएर आर्थिक उपार्जन गर्न सकिने नेपाल एशोसिएशन अफ टूर एण्ट ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो । उहाँले नदी आफैमा पर्यटकीयस्थल भएको उल्लेख गर्दै शान्ति प्राप्त गर्न आरती र योग जस्ता अभ्यास प्रभावकारी हुने बताउनुभयो । 

अध्यक्ष सिग्देलले सन्तानेश्वर महादेव र बाबा बर्फानीको मन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटनको लाभ लिन सकिने उल्लेख गर्दै त्यसका लागि पूर्वाधारको विकास आवश्यक भएको बताउनुभयो । ‘आरती लगायतका धार्मिक गतिविधिले धार्मिक पर्यटनलाई नै बढवा दिन्छ’ उहाँले भन्नुभयो । 

पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले धार्मिक पर्यटनलाई बढवा दिन करिडोरको निर्माणमा जोड दिँदै धार्मिक पर्यटनले गाउँ र शहरबीचको खाडल हटाउने बताउनुभयो । उहाँले धार्मिक पर्यटनको माध्यमबाट सदभावको विकास हुने उल्लेख गर्दै राप्ती नदीमा शुरु भएको गङ्गा आरतीबाट पर्यटकीय आर्कषण बढाउने सकिने विश्वास व्यक्त गर्नुभयो । 

संयोजक श्रेष्ठले भन्नुभयो– ‘बागेश्वरी मन्दिरलाई राप्ती नदी पारीका विभिन्न मन्दिर हुँदै बैजानाथ र खजुरा गाउँपालिकासम्म जोडेर धार्मिक सर्किट बनाउछ सकिन्छ ।’

महादेव मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्रीले राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि गङ्गा आरती सुरु भएको जानकारी दिँदै अब हरेक महिनाको पूर्णिमाको दिन नियमित रुपमा आरती हुने उल्लेख गर्नुभयो । 

स्थानीय अगुवा सूर्यलाल यादवले निर्माण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्यापर्यटनका रुपमा विकास गर्न थालिएको भन्दै यहाँको सम्भावनालाई दिगो बनाउन पहल गर्नुर्नेमा जोड दिनुभयो । राप्ती नदीको सिधनिया घाटलाई धार्मिक आस्थाका रुपमा विकास गर्दै लैजान थालिएको छ । 

नेपालगञ्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती शुरु भएपछि जिल्लाको कोहलपुर, खजुरामा समेत आरती गर्न थालिएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै