
बैतडी । नेपालको परम्परागत रैथाने बालीका रूपमा रहेको कोदो पछिल्लो समय हराउँदै गएको छ ।
नगदेबालीतर्फको आकर्षण, आधुनिक खेती प्रणाली र जलवायु परिवर्तनका कारण यो बालीको खेती घट्दै गएको छ ।
कोदोको महत्व बिर्सेका किसान अहिले नगदेबालीतर्फ आकर्षित भएका दोगडाकेदार–३ श्रीकोटका ६८ वर्षीय नन्दराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोदोको महत्व बिर्सेका किसान अहिले अन्य नगदेबाली आलु, अदुवा र तरकारीखेतीतर्फ आकर्षित भएका छन् । त्यसले गर्दा कोदोजस्ता परम्परागत बाली लोप हुँदै गएका हुन् ।’
यसैबीच जिल्लाको शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्द्धन गर्न किसानलाई चार लाख रुपैयाँ अनुदान दिने भएको छ । गाउँपालिकामा पछिल्लो समय कोदोखेती घट्न थालेपछि किसानलाई अनुदान दिएर खेती प्रवर्द्धन गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो ।
कोदोखेती प्रवर्द्धनका लागि प्रदेश सरकारबाट गाउँपालिकालाई ४ लाख रुपैयाँ प्राप्त भएपछि सूचना जारी गरेर किसानबाट आवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो । कोदोखेती गर्ने किसानले प्रतिरोपनी ७ सय रुपैयाँका दरले अनुदान पाउने जनाएको छ ।
गाउँपालिकाले यसअघि गर्भवती आमाहरूलाई कोसेलीका रूपमा कोदोको पिठो दिने निर्णय गरेको थियो । कोदो लगाउने चलन हराउँदै जान थालेपछि किसानलाई उत्पे्ररणा दिन कोदोमा अनुदान कार्यक्रम शुरु भएको गाउँपालिका अध्यक्ष साउदले बताउनुभयो ।
उहाँले पालिकाभित्रका विद्यालयमा दिवा खाजाका रूपमा विद्यार्थीलाई कोदोका परिकार बनाएर खुवाउने निर्णय भएको बताउनुभयो । आधुनिकतासँगै गाउँमा विभिन्न कम्पन्नीले उत्पादन गरेको चामल, चाउचाउ र चाउमिन भित्रिएपछि खानपिनमा परिवर्तन आएको छ ।
कोदो स्वास्थ्यका लागि पनि निकै लाभदायक खाद्यान्न रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने कोदोको प्रयोगले विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास हुने गरेको छ । यसका साथै कोदोमा फाइबर, प्रोटिन र खनिजजस्तै क्याल्सियम, आइरन र म्याग्नेसियमको मात्रा उच्च हुन्छ ।
यसले पाचन प्रणालीलाई सन्तुलित राख्न र ह्दय रोगको जोखिम कम गर्न मद्दत पुर्याउँछ । साथै, मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा पनि कोदो उपयोगी मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन