
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
‘आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ।
उहाँका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताउनुभएको थियो । राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै कतारका अमिर अल थानीले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरणसम्बन्धी सम्झौताहरुको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद् वातावरण तयार हुने बताउनुभयो । उहाँले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो । अमिर अल थानीले कतारको विकासमा नेपालीहरुको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गर्नुभएको थियो ।
उहाँले दुई देशबीच बुधबार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानीको नयाँ सम्भावनाहरु बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गर्नुभएको थियो ।
दुई मुलुकबीच नियमित रूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दा टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दैै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।
दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रमा हाम्रो सहयोग एवं सहकार्य भविष्यमा थप घनिभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभएको थियो । कतार नेपाली कामदारहरूको लागि वैदेशिक रोजगारीको एक प्रमुख एवं आकर्षक गन्तव्य मुलुक रहँदै आएको र आधुनिक कतारको विकासमा नेपाली कामदारले पनि उल्लेखनीय योगदान गरेको स्मरण गराउनुभएको थियो ।
राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुशी लागेको बताउँदै मुलुकलाई एक उच्च विकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गर्नुभएको थियो । भेटवार्ता पछि अमिर अल थानीले राष्ट्रपति कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।
सम्बन्धित समाचार...
राष्ट्रपतिद्वारा विपिन जोशीको रिहाइका लागि कतारका अमिरसँग आग्रह
कतारका अमिर शीतल निवासमा, राष्ट्रपतिसँग भेटवार्ता
कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलद्वारा स्वागत
भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
कतारका राजालाई सेनाको कमान्डमा विशिष्ट श्रेणीको सुरक्षा
यस्ता छन् नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै