+

सरकारी संरचना नै छैनन् अपाङ्गमैत्री

डडेल्धुरा ।  डडेल्धुरास्थित सरकारी संरचना तथा कार्यालय प्रमुखको कक्ष अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच पुग्नसकेको छैन । अपाङ्गता भएका व्यक्तिले सरकारी कार्यालय आउँदा सहयोगी नल्याए काम गर्न सक्ने अवस्था नभएको गुनासो गरेका छन् । 
 
अमरगढी नगरपालिका–१ भेटाका गणेश ऐर नगरप्रमुखलाई भेट्न जाँदा सधैँ त्रासमा  पर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो– ‘त्यहाँ पुग्नुअघि कुन दिन सिँढीबाट लडिन्छ सधैँ डराउनुपर्ने अवस्था छ ।’ शारीरिक रूपमा अपाङ्ग ऐरजस्तै अन्य धेरै सेवाग्राही अपाङ्गमैत्री कार्यालय नहुँदा समस्यामा छन् । अमरगढी नगरपालिकाको यो अवस्था छभने अन्य कार्यालयको अवस्था पनि यो भन्दा फरक छैन ।

एकातिर कार्यालयसम्म पुग्न सहज छैन भने अर्कातिर कार्यालय प्रमुख माथिल्लो तलामा बस्ने गरेका छन् । जिल्लाका अधिकांश स्थानीय तह प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधीश, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, सामाजिक विकास कार्यालय प्रमुख, मालपोत अधिकृत, नापी प्रमुख, टेलिकम, विद्युत्लगायत सरकारी कार्यालयका प्रमुखको माथिल्लो तलामा कार्यकक्ष छ । यसले गर्दा अपाङ्गता भएका सेवाग्राहीको पहुँच कार्यालय प्रमुखसम्म पुग्न सहज नभएको उनीहरूले बताएका छन् । 

सरकारी संरचना अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएकाहरूले सास्ती भोग्दै आएका हुन् । अपाङ्गमैत्री कार्यालय नहुँदा सिधैँ कार्यालयमा गएर आफ्ना समस्या उनीहरूले राख्न सकेका छैनन् । कार्यालय परिसरमै पुग्न नसकेका अपाङ्गता भएकाहरूको पहुँच कार्यालय प्रमुखसम्म पुग्ने त कुरै भएन । कार्यालयका सम्बन्धित अधिकारीसम्म सिधैँ पहुँच नहुँदा उनीहरूले समस्या भोग्दै आएका हुन् ।

सरकारी कार्यालयमा अप्ठ्यारो सिँढी रहेकाले शारीरिक अपाङ्गता भएकाहरूले सहज सेवा लिन नपाएको जिल्ला अपाङ्ग कल्याण सेवा समितिका अध्यक्ष राजेन्द्र प्रसाद पन्तले बताउनुभयो । ‘वैशाखी, सेतो छडी बोक्नेहरूका लागि कार्यालयको सेवा कठिन भएको छ’ उहाँले  भन्नुभयो– ‘मुलुकमा धेरै परिवर्तन आए तर अपाङ्गका लागि सहज सेवा पाउन सकेका छैनन् ।’

अपाङ्ग भएका व्यक्तिहरूले आफ्ना कुरा सम्बन्धित अधिकारीको कार्यकक्षमै आएर सुनाउन सक्ने वातावरण बनेको छैन, जसले गर्दा उनीहरू सहज रूपमा सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको छ । सरकारी सेवा सहज रूपमा लिन कार्यालय प्रमुखलाई पटक–पटक भुइँतलामा बस्नुपर्ने आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको अध्यक्ष पन्तले गुनासो गर्नुभयो । डडेल्धुरामा चार हजार एक सय ५० जना अपाङ्गता भएका व्यक्ति छन् ।

अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ जारी भए तापनि जिल्लाका सरकारीलगायत गैरसरकारी निकायका संरचना अपाङ्गमैत्री निर्माण भएका छैनन् । प्रत्यक्ष जनसरोकारकारका सरकारी अड्डामा पनि यो अवस्था भएपछि अपाङ्गता भएकाहरूले आफ्नो हकअधिकारबाट वञ्चित हुनुपरेको दुखेसो पोखेका छन् ।

जिल्लाका सरकारी भवन, विद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यस्थल, सार्वजनिक सडक, सडकपेटी, यात्रु प्रतिक्षालयजस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवन, आवासीय भवन, होटल तथा रेष्टुराँजस्ता सार्वजनिक भौतिक संरचनामा अपाङ्गता भएकाहरूका लागि सहज छैनन् । 

उपयुक्त ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेल समेतको व्यवस्था गरी अपाङ्गता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहुँचयोग्य बनाएर अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना बन्न नसक्दा सास्ती भोग्दै आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै