+

बम बिस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग

पाँचथर । बम बिस्फोटबाट मृत्यु तथा घाइते भएका बालबालिकाका परिवारलाई यहाँका तीन संस्थाले आर्थिक सहयोग गरेका छन् ।

गत भदौ १३ गते बेवारिसे बम बिस्फोट हुँदा ज्यान गुमाएका फालेलुङ गाउँपालिका–५ डाँडागाउँका ११ वर्षीय दीप्सन साँवा र तीन वर्षीया प्रिन्सा साँवा तथा घाइते भई उपचाररत बालकद्वय दीप्सन राई र पवन राईको परिवारलाई ३ लाख ४२ हजार ९ सय ५६ रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । यहाँका दीपज्योति युवा क्लब र फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्थाले २ लाख ८२ हजार ४ सय ५६ रुपैयाँ तथा फालेलुङ सेवा समाजले सङ्कलन गरेको  ६० हजार ५ सय रुपैयाँ सोमबार तीन परिवारलाई वितरण गरिएको दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिनुभयो । 

तीन संस्थाले मृतकका परिवारलाई १ लाख ७१ हजार ४ सय ७८ र घाइतेका परिवारलाई जनही  ८५ हजार ७ सय ३९ का रुपैयाँ दरले सहयोग उपलब्ध गराइएको बान्तवाले बताउनुभयो । यी संस्थाले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरी देश तथा विदेशमा रहेकाहरुबाट सहयोग सङ्कलन गरेका थिए । सङ्कलित रकम वडाध्यक्ष भरतकुमार खपाङ्गीसहित स्थानीयको उपस्थितिमा प्रभावित परिवारलाई हस्तान्तरण गरिएको थियो । 

मृतक दीप्सन र प्रिन्सा साँवा दिलीप साँवाका छोराछोरी हुन् । गत भदौ १३ गते माओवादी कार्यकर्ता आइतराज केरुङको घरमा खेल्ने क्रममा बालबालिकाहरुले त्यो बेवारिसे बम भेट्टाएका थिए । बम खेलाउने क्रममा विस्फोट हुँदा दाजुबहिनीको ज्यान गएको थियो भने दुईजना घाइते भएका थिए । 

घाइते दीप्सन राई, ज्ञानबहादुर राई तथा पवन राई दीपक राईका छोरा हुन् । उक्त घरमा ज्ञानबहादुरको परिवार बसोबास गर्दै आएको छ । घाइतेको काठमाडौँस्थित जलन अस्पतालमा उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट