+

जलेश्वर कारागार जीर्ण

महोत्तरी । जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ ।  

भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् । 

विसं १९१३ सालमा निर्मित कारागारमा एक सय ३५ जनालाई राख्न सकिने भए पनि हाल पाँच सयभन्दा बढी सङ्ख्यामा कैदीबन्दी राखिएका छन् । कारागार प्रमुख (जेलर) रामचन्द्र साहले क्षमताभन्दा बढी कैदीबन्दी भए पनि सोअनुसार व्यवस्थापन नहुँदा समस्या भएको बताउनुभयो । 

उहाँका अनुसार कारागारमा रहेका ५ सय ९४ कैदीबन्दीका लागि २४ कोठा, १५ शौचालय, सातवटा चापाकल र छवटा धारा छन् तर क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी हुँदा सुत्न, बस्न र नित्यकर्म गर्नसमेत समस्या छ । ‘करिब डेढफिट चौडा कोठामा धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्दा धेरैै समस्या छ । पछिल्लो समय कारागारलाई सुधारगृहको अवधारणाअनुसार विकास गर्नुपर्नेमा पठनपाठन, खेलकुद र मनोरञ्जनको व्यवस्थाका लागि सोच्न सकिएको छैन’ उहाँले भन्नुभयो । 

प्रदेश राजधानी रहेको धनुषामा कारागार नहुँदा त्यहाँको चाप पनि यही काराकारले धान्नुपरेको छ ।  कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै कैदीबन्दी रहेका छन् । ‘हामीले कारागारको भौतिक अवस्था र कैदीबन्दीको चाप, पूर्वाधार लगायत समस्याबारे माथिल्लो निकायमा दैनिकजसो जानकारी गराइरहेका छौँ तर सुनुवाइ भएको छैन’ कारागार प्रमुख साहले गुनासो गर्नुभयो ।

जलेश्वरमा कारागारसँग ६ बिघा ११ कट्ठा १७ धुर जग्गा छ । त्यो जग्गामा  सुविधा सम्पन्न भवन तथा खुला कारागारको अवधारणाअनुसार पूर्वाधार निर्माण गर्न माथिल्ला निकायमा प्रस्ताव पठाइएकाले त्यसको कार्यान्वन हुनुपर्ने साहले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै