+

ऐतिहासिक पञ्चायत घर जीर्णोद्वार


बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा रहेको जीर्ण पञ्चायत घर गाउँपालिकाले संरक्षण थालेको छ । 

गाउँपालिकाले पञ्चायत घरलाई पुनर्निर्माण गरी पाहुना घर र पुस्तकालय बनाउने योजनाका साथ भवन जीर्णोद्वारा गरिरहेको छ । नेपालमा २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भए पनि पञ्चायती व्यवस्था सञ्चालन भएको तमान गाउँको पञ्चायत घर हालसम्म जीवित छ । ऐतिहासिक घरलाई गाउँपालिकाले  १० लाख रुपैयाँ विनियोजन गरेर जीर्णोद्वारको काम भइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । 

इतिहासको संरक्षण गर्नका लागि पञ्चायतमा शासन चलाएको घरलाई संरक्षण गरिएको बताउनुभयो । उक्त घरलाई आन्तरिक पर्यटकलाई बस्ने र पुस्तकालय बनाउने उदेश्य अनुरुप पुनर्निर्माण गरिएको हो । 

‘पञ्चायत ढले पनि घर ढलेको थिएन, गाउँपालिकाले ऐतिहासिक घरलाई संरक्षण गर्न थालेका छौँ, घर पुनर्निमाण गरेर मात्रै भएन, त्यसलाई प्रयोगमा ल्याउन पाहुना राख्ने घर बनाउने र तल्लो तलामा पुस्तकालय बनाउने गाउँपालिकाको योजना रहेको छ’ बुढाले भन्नुभयो– ‘निरकुंश पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुनःबहाली भए पनि पञ्चायत भवन संरक्षित गर्न गाउँपालिकाले आवश्यक ठानेको छ ।’

पञ्चायती व्यवस्थाको झलकका रुपमा रहेको भवनलाई संरक्षण गरेर पर्यटकलाई चिनाउने योजना गाउँपालिकाको छ । पञ्चायतकालमा प्रधान उपप्रधानले यही भवनमा कार्यालय स्थापना गरेर काम गर्ने गरेकोको स्थानीय ललितबहादुर घर्तीमगरले बताउनुभयो । 

तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट वडा  ५ खुङ्खानी, वडा  ६ नर्जाखानी, वडा  ४ लाम्मेला, वडा  २ बोङ्गादोभानलगायतका स्थानका जनतालाई सेवा प्रदान गरिन्थ्यो । भवनलाई पुनर्निमाण गरी संरक्षण गनुपर्ने स्थानीयको मागलाई गाउँपालिकाले सम्बोधन गरेको भवन पुनर्निर्माण समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय घर्तीमगरले जानकारी दिनुभयो । 

‘यो भवन जीर्ण बनेको थियो, यसको संरक्षण र पुनःउपयोग गर्ने उद्देश्यले पुनर्निमाण गरिएको हो’ उहाँले भन्नुभयो, ‘भवनको पुनर्निर्माण गरिएसँगै गाउँमा हुने अन्य सामाजिक कामको लागि समेत सहयोग पुग्ने छ ।’ भवन निर्माणको यकीन मिति नभए पनि पछिल्लो दशकदेखि भवन जीर्ण अवस्थामा रहेको थियो । 

पञ्चायत भवन साविक लुकुरवन, खुङ्गा, नर्जा, खुंखानी, तमान, लाममेला नागरिकले मिलेर निर्माण गरेका थिए । भवन पुनर्निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भएको समितिका अध्यक्ष घर्तीमगरले बताउनुभयो । तमानखोला–३ का वडाध्यक्ष झकबहादुर बुढाले भवन सम्पन्न भएपछि केही समय वडा कार्यालय राखिने र पछि पुस्तकालय बनाइने छ । 

यहाँबाट गाउँमा केही बदमासी गर्ने, आपराधिक क्रियाकलाप गर्नेलाई सजायसमेत दिइन्थ्यो । तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढामगर लगायतले शासन गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाले यसको इतिहास र को–को पञ्चायतले शासन गरे भन्नेबारे गाउँपालिकाले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै