
म्याग्दी । मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।
गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो ।
प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले तीर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । ‘चैते दशैँक, श्राद्ध तिथि पारेर कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शनका लागि तीर्थयात्रीका साथै अनुकूल मौसमसँगै विद्यालय र विभिन्न सङ्घसंस्थाबाट मुस्ताङ घुम्न आउनेको चाप बढेको छ’ उहाँले भन्नुभयो– ‘लेक लाग्ने (अक्सिजन कमी हुने) बिरामी हुने, ढल्ने जस्ता समस्या सृजना भई मानवीय क्षति हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।’
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा दुई नेपाली र ६ विदेशी नागरिकको मुस्ताङमा लेक लागेर मृत्यु भएको छ । तीन वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तीर्थयात्री हुन् । एक सातासम्म सञ्चालन हुने शिविरमा अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगीको स्वास्थ्य परीक्षण गरी परामर्श तथा प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी अस्पताल गण्डकीका स्वास्थ्य अधिकृत डा मृदुषा श्रेष्ठको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटिएको त्यस शिविर सञ्चालन गर्न मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ ।
समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमीले स्याँ स्याँ हुने, टाउको दुख्ने, वाकवाकी हुने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाह्रो हुन्छ । प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तीर्थयात्रीलाई अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक कार्यक्रम गरेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीको स्वास्थ्य शिविर र सचेतनामूलक कार्यक्रमले अक्सिजनको कमीका कारण मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । मुस्ताङमा आइतबार एक हजार दुई सय सात सवारीसाधनमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ बाह्य पर्यटक भित्रिएको तथ्याङ्क छ । शनिबार चार सय ३७ सवारीसाधनमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री