+

रेशम चौधरीद्वारा सुदूरपश्चिम सरकार ढाल्न खोज्नेलाई मार्ने धम्की

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि पार्टीका संस्थापक रेशमलाल चौधरीले आक्रमण गरेको आरोप लगाउनु भएको छ ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आफूमाथि भौतिक आक्रमण भएको बताउनुभएको हो । 

पत्रकार सम्मेलनमा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर–४ का वडाध्यक्ष लालवीर चौधरी र टीकापुर–५ का वडाध्यक्ष बलवीर चौधरी समेत सहभागी भएको उहाँको आरोप छ । 

“अनौपचारिक कुरा हुने क्रममा एउटा ढोकामा मात्रै चुकुल लगाइएको थिएन । त्यो घरबाट बाहिर निस्कने मेन ढोकामा बाहिरबाट बन्द गरेर ममाथि भौतिक आक्रमण भयो,” उहाँले भन्नुभयो । 

सोमबार बिहान ८ बजे अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले संस्थापक केन्द्रीय समितिको बैठक बोलाउनु भएको थियो । बैठकअघि अनौपचारिक कुराकानीका क्रममा विवाद हुँदा संस्थापक रेशमलाल चौधरीले आक्रमण गरेको श्वकर्माले बताउनुभयो । 

प्रदेस सरकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आफूहरू बालुवाटार जाने भनेपछि रेशमलालले ज्यानमार्ने चेतावनी दिनुभएको उहाँले बताउनुभयो । “आज प्रधानमन्त्रीलाई भेट्न जाने हो भन्दैगर्दा तिमीहरु बालुवाटार गयौ भने बालुवाटारबाहिरै पिट्छौँ भन्दै चौधरीले धम्की दिएको नेता विश्वकर्माको दाबी छ । 

सोही क्रममा रेशमलालले प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बनाएको विषय उठाउँदा कुटपिट गरिएको उहाँको भनाइ छ । “यहाँभन्दा पहिले २५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ । तर, निर्वाचन आयोगमा अद्यावधिक गर्न जानु भएन । त्यहाँ पार्टी चुक्यो कि चुकेन भन्ने जवाफ कसले दिने भन्ने प्रश्न उठाएपछि ममाथि, केही केटा कसरी आए थाहा भएन । भौतिक आक्रमण गरे,” उहाँले भन्नुभयो । 

आइतबार पनि रेशमलालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढले हत्या गर्ने चेतावनी दिएकाले आफूले असुरक्षित महसुस गरेको उहाँले बताउनुभयो । 

“हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा म, टीकापुर नगरपालिकाका मेयर साप, वडा नम्बर–४ र वडा–५ का अध्यक्षज्यू संयुक्त रूपले बसेका थियौँ । उहाँ (रेशमलाल चौधरी)ले सिधै के भन्नुभयो भने– यदि, सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरु चारैजनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज भौतिक आक्रमण हुँदा असुरक्षित छु कि भन्ने फिल गरेर पत्रकार सम्मेलन गर्न आइपुगेको हुँ,” विश्वकर्माले भने ।

त्यस विषयमा रेशमलालले सोमबार माफी भने मागेको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्षसहित २० केन्द्रीय सदस्यमाथि कुटपिट, दुर्घटना वा केही भएमा त्यसको जिम्मेवारी चौधरीले लिनुपर्ने उहाँले बताउनुभयो । हत्याको विषयलाई गम्भीर रूपमा लिन उहँले पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीको ध्यानाकर्षण समेत गराउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै