
काभ्रे । चौँरीदेउराली गाउँपालिकाका जनप्रतिनिधिले विद्यालयमा सरकारले तोकेका खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधिका १० मापदण्ड पूरा गराई सबै सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ (तीन तारा) घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।
बागमती प्रदेशमा पहिलोपटक उक्त गाउँपालिकामा मापदण्ड पूरा गरेका पाँचवटा सामुदायिक विद्यालयलाई गत फागुन अन्तिम साता तीन तारा घोषणा गरिएको थियो । ‘भविष्यका लागि आधार परियोजना’ सञ्चालनपछि सरसफाइ तथा स्वच्छता मापदण्ड कार्यान्वयन भएका विद्यालयलाई तीन तारा घोषणा गर्न थालिएको हो ।
परियोजनाको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष रेणुका चौलगाईँले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रम केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रदेशमै पहिलोपटक यस गाउँपालिकाका पाँच विद्यालयलाई तीन तारा घोषणापछि गाउँभर सकारात्मक सन्देश प्रवाह भएको छ, आउँदो वर्षदेखि गाउँपालिकाका बाँकी सबै विद्यालयमा तीन तारा घोषणा गर्नेगरी कार्यक्रमलाई अघि बढाइने छ ।’
परियोजना कार्यान्वयन गर्न सिविक फोरम नामक संस्थाले समन्वय गरिरहेको छ । कार्यक्रममा गाउँपालिका–३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईँ, ५ का वडाध्यक्ष कृष्णप्रसाद गौतम, ८ का वडाध्यक्ष धनबहादुर तामाङ र ९ का वडाध्यक्ष रामबहादुर लामाले बाँकी विद्यालयमा तीन तारा घोषणाका लागि केही मापदण्ड पूरा गर्न बाँकी रहेकाले तीव्ररुपमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्य भइरहेको र पूरा भएपछि तीन तारा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकामा हाल ३३ विद्यालयमा सञ्चालमा छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बालबालिकाका लागि खानेपानी तथा स्वच्छता कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख कालिप्रसाद शर्माले कार्यक्रम निरन्तरताका लागि विद्यालयमा आवश्यक पूर्वाधारका विषयमा अनुगमन निरीक्षण एवं प्रतिवेदन सङ्कलन भइरहेको बताउनुभयो ।
फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले वाटर एडको आर्थिक तथा प्राविधिक सहयोगमा २०२२ देखि सहजीकरण गरिरहेको उक्त कार्यक्रम गाउँपालिकामा रहेका सबै विद्यालयमा पूरा गराउनेगरी कार्य भइरहेकोे बताउनुभयो । उहाँका अनुसार यसअघि पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ वातावरण, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् । यी १० सूचक पूरा गरेपछि तीन तारा घोषणा गरिएको हो ।
गाउँपालिकाको वडा नं ६ स्थित प्रभा माध्यमिक विद्यालय, वडा नम्बर ७ को सिर्जनशील जनता मावि, वडा नं ५ स्थित अरनिको मावि र जागृति मावि तथा वडा नम्बर ३ को बुद्ध हिमालय माविले सरकारले तोकेका १० मापदण्ड पूरा गरेका थिए । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटर एडको सहयोग र सिविक फोरमको साझेदारी थियो ।
नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ । राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडिजी)को ४ र ६ नम्बर अन्तर्गत सबै विद्यालयमा सुरक्षित खानेपानी र सरसफाइमा विशेष जोड दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु