
तनहुँ । भिमाद घर भई दमौली बस्दै आउनुभएका राजेन्द्र अर्याललाई खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्यो । दुई दिनदेखि परेको झरीका कारण राजमार्ग हिलाम्य भएपछि २२ किलोमिटर दूरी छिचोल्न उहाँलाई तीन घण्टा लागेको हो ।
अर्यालले भन्नुभयो– ‘झरीले राजमार्ग हिलाम्य छ । हिलाम्य राजमार्गमा सवारीसाधन फसेर निकै बेर जाममा बस्नुपर्यो ।’ खैरेनीटारदेखि थर्पुसम्मको खण्डमा बढी समस्या रहेको उहाँको भनाइ छ । मुग्लिन पोखरा सडक विस्तारका क्रममा ठाउँठाउँमा एकतर्फी कालोपत्रको काम अगाडि बढे पनि कालोपत्र नभएका ठाउँमा हिलो माटोले सवारीसाधन फस्दा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् ।
खैरेनीटारमा व्यवसाय गर्दै आउनुभएका ज्ञानेन्द्र काफ्लेलाई दमौली आइपुग्न दुई घण्टाभन्दा बढी लाग्यो । हिलोका कारण गाडी फसेपछि बसबाट झर्न पनि मिलेन । दुई दिनदेखि परेको वर्षाका कारण मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको कोत्रेदेखि आँबुखैरेनीसम्मको यात्रामा यात्रुले सास्ती भोग्नु परेको छ । विशेषगरी जामुनेदेखि कोत्रेसम्मको यात्रामा बढी समस्या छ ।
मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले वर्षायामअघि सडकको नाली बनाउने योजना भए पनि नाली तयार नभइसकेकाले यो समस्या आएको बताउनुभयो । पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार २० किमी खण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किमी दुईतर्फी र आठ किमी एकतर्फी खण्ड कालोपत्र सकिएको छ ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरु भएको थियो । ४१ दशमलव ४५ किमी दूरीको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ । पोखरा खण्डमा कालोपत्र हुँदैछ । पश्चिम खण्डमा हालसम्म छ किमी एकतर्फी सडक कालोपत्र भइसकेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम शुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको काम सम्पन्न गर्ने मिति विसं २०८१ भदौसम्म छ । यो खण्ड ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी