+

‘म्युजिक भिडियो’मा निर्देशकका चलचित्रले सफलता पाएन

काठमाडौँ ।  नेपालमा साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) निर्देशनबाट ठूलो पर्दासम्म पुग्ने निर्देशकको सङ्ख्या उल्लेख्य छ । 


सानो पर्दामा दर्शकको मन जितेका यी निर्देशकलाई चलचित्र निर्देशनमा सहज हुने विश्वासले प्रेरित गरेको देखिन्छ । सानो पर्दामा राम्रो छवि बनाएका निर्देशकहरू ठूलो पर्दामा अपेक्षा गरिएअनुसार सफल भएका देखिँदैनन् । ‘म्युजिक भिडियो’मा चम्किएका धेरैजसो निर्देशकले चलचित्रमा आफ्नो कामले प्रभाव छाड्न नसकेको स्वयम् निर्देशकहरू नै स्वीकार्नु हुन्छ ।

नेपाली टेलिभिजनमा गहिरो छाप छोडेका भूषण दाहालले ‘डिजिटल’ प्रविधिमा बनेको पहिलो नेपाली चलचित्र ‘कागबेनी’ मार्फत ठूलो पर्दामा प्रवेश गर्नुभयो । परम्परागत कथ्य शैलीभन्दा फरक यो चलचित्रले समीक्षकको ध्यान तान्यो, तर व्यावसायिक रूपमा असफल भयो । निर्देशक दाहालले त्यसयता दोस्रो चलचित्र निर्देशन गर्नुभएको छैन । 

त्यस्तै निर्देशक आलोक नेम्वाङले चलचित्र ‘सानो संसार’ लिएर ठूलो पर्दामा प्रवेश गर्नुभयो । चलचित्र प्रदर्शनअघि उहाँको कामको चर्चा भए पनि त्यसले दर्शकलाई चलचित्र भवनसम्म तान्न सकेन । न समीक्षकले यसलाई उत्कृष्ट भने, न राम्रो व्यापार भयो ।

यसैगरी, प्रशन्न पौडेलले निर्देशन गर्नुभएको ‘स्वर’, निकेश खड्काले निर्देशन गर्नुभएको ‘जिन्दगी रक्स’, सङ्गीता श्रेष्ठले निर्देशन गर्नुभएको ‘कथा काठमाडौँ’, विशाल भण्डारीले निर्देशन गर्नुभएको ‘कोहलपुर एक्सप्रेस’, प्रवीन श्रेष्ठले निर्देशन गर्नुभएको ‘मोक्ष’, सुव्रत आचार्यले निर्देशन गर्नुभएको ‘अधकट्टी’ पनि व्यावसायिक रुपमा सफल हुनसकेन । प्रदर्शनअगाडि भएको चर्चाले दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गर्न सकेन ।

गत वर्ष निकै आश गरिएको गायक प्रकाश सपुतले निर्देशन तथा अभिनय गर्नुभएको चलचित्र ‘वसन्त’ पनि व्यावसायिक रूपमा असफल भएको छ । प्रदर्शनको एघारौँ दिनसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) मा यस चलचित्रले एक करोड ८६ लाख रुपैयाँ (ग्रस) व्यापार गरेको तथ्याङ्क छ ।

चलचित्रले अपेक्षित सफलता पाउन नसकेको निर्देशक सपुतले पनि स्वीकार गरिसक्नुभएको छ । सामाजिक सञ्जालमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले कमीकमजोरीलाई आउँदो चलचित्रमा सुधार्ने उल्लेख गर्नुभएको छ । ‘म्युजिक भिडियो’ निर्देशकहरू ठूलो पर्दामा किन असफल हुन्छन् ? यो प्रश्न उठ्नुमा प्रदर्शनरत चलचित्र ‘वसन्त’ कारण बनेको छ । किनकि गीतसङ्गीतमा स्थापित नाम ‘प्रकाश सपुत’ चलचित्रमा असफल हुनुभयो । निर्देशक निकेश खड्काले प्राविधिक रुपमा ज्ञान लिएर चलचित्र निर्देशन गर्नुपर्ने आफैँले मनन गर्नुभएको छ ।

‘साङ्गीतिक श्रव्यदृश्य बनाउँदा हामीले गर्ने काम र चलचित्रमा गर्ने काममा निकै फरक छ । मैले पनि यसको भिन्नतालाई पहिलो चलचित्र निर्देशन गरेपछि महसुस गर्न पाएँ । चलचित्रमा निर्देशक बन्नुअघि कुनै न कुनै रुपमा चलचित्रको सुरुआतदेखि अन्त्यसम्म निर्माण प्रक्रियामा सहभागी भएको राम्रो । यसले हामीलाई काम गर्न शैलीसँग अभ्यस्त गराउँछ’ निर्देशक खड्काले भन्नुभयो ।

उहाँले प्राविधिक पक्षसँगै कथा, पटकथा र प्रस्तुति शैलीमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘म्युजिक भिडियो’ बाट चलचित्र निर्देशन गरेर व्यावसायिक रुपमा सफलता पाउने निर्देशक मिलन चाम्स हुनहुन्छ । उहाँले निर्देशन गर्नुभएको पछिल्लो चलचित्र ‘अञ्जिला’ ले घरेलु बजारमा राम्रो कमाई गरिरहेको छ । 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको सफलतापछि उहाँले आफ्नो कार्यशैलीमा समेत परिवर्तन ल्याएको बताउनुभयो । ‘साङ्गीतिक श्रव्यदृश्य तयार गर्दा हाम्रो आधा काम गीतसङ्गीतले नै पूरा गर्दिन्छ । त्यसकारण सहज लाग्छ, तर चलचित्रमा लेखिएका शब्दलाई काल्पनिक संसार बनाएर पर्दामा उतार्न सक्नुपर्छ । चलचित्र निर्देशन गर्दा कथा–पटकथा लेखन, छायाङ्कन, सम्पादन, पाश्र्वसङ्गीतलगायतका ज्ञान निर्देशकमा हुनु जरुरी छ । मुख्य कुरा त लेखिएको पटकथालाई पर्दामा उतार्नु नै हो’ निर्देशक चाम्सले भन्नुभयो ।

अब वैशाखमा नै दर्शकमाझ परीक्षा दिन निर्देशक नवीन चौहान आउँदैहुनहुन्छ । उहाँले तयार गर्नुभएको गीतसङगीत र श्रव्यदृश्यमार्फत गायक सपुत झैँ दर्शकको प्रिय बनिसक्नु भएको छ । निर्देशक चौहानको निर्देशनमा तयार भएको ‘ऊनको स्वीटर’ को व्यावसायिक नतिजाले पनि ‘म्युजिक भिडियो’ निर्देशकहरुलाई काम गर्ने तरिकामा समीक्षा गर्न सघाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै