
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस) मा यस चलचित्रले ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ । जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ ।
यसकारण पनि चलचित्र क्षेत्रमा नयाँ सम्भावना देखिएको अभिनेता हरिवंश आचार्यको बुझाइ छ । नेपाली चलचित्रको बजारको आकार र अवसरलाई गएको वर्षले प्रस्ट्याएको अभिनेता आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘यो वर्ष हामीले आशावादी हुने धेरै ठाउँ छन्, किनकि हामीले हाम्रो दर्शक र बजारको क्षमता बारे बुझ्ने मौका पाएका छौँ । तर, सङ्ख्यात्मक नभई हामीले गुणात्मक चलचित्र बढाउनुपर्छ । अघिल्लो वर्ष केही चलचित्रले गरेको व्यापारका कारण यो वर्ष प्रदर्शनको सङ्ख्या बढ्ने देखिन्छ तर हामीले बजारलाई बुझेर त्योअनुसार चलचित्र ल्याउनु पर्छ ।’
उहाँले अभिनय गर्नुभएको चलचित्र ‘भूठान’ वैशाख १२ गते र ‘हरिबहादुरको जुत्ता’ आगामी दसैँमा प्रदर्शन हुँदैछ । यस वर्ष मह सञ्चारबाट चलचित्र निर्माण गर्ने भन्दा पनि आएका प्रस्तावमा अभिनय गर्ने सोच अभिनेता आचार्यले बनाउनुभएको छ ।
‘चलचित्र निर्माण गर्दा आफूमा धेरै दायित्व आउँछ, सोही कारण अहिले अभिनयमै केन्द्रित छौँ । दुई चलचित्र प्रदर्शन भएपछि आगामी के गर्ने भन्ने सोच बन्छ, अहिले भने ती दुई चलचित्रकै काममा केन्द्रित छु’ अभिनेता आचार्यले भन्नुभयो ।
अभिनेता निखिल उप्रेती पनि केही वर्षको विश्रामपश्चात् यो वर्षदेखि आफ्नो चलचित्रकर्मलाई निरन्तरता दिँदै हुनुहुन्छ । उहाँले छायाङ्कनका लागि नेपालसँगै भारतको केही भूभागको अवलोकन पनि गरिसक्नुभएको छ ।
‘म जेठदेखि चलचित्रको छायाङ्कन गर्ने तयारी गरिरहेको छु, अन्तिम साताबाट काम सुरू हुन्छ । अहिले नेपाली चलचित्रको राम्रो समय आएको छ, चलचित्र भवनसम्म आएका दर्शकलाई बढाउने र ल्याइरहने गरी हामी चलचित्रकर्मीले काम गर्न जरुरी छ । म यसपटक भिन्न कथा र शैलीको चलचित्र दर्शकलाई दिने तयारी गरिरहेको छु’ उहाँले भन्नुभयो । अभिनेता उप्रेतीले द्वन्द्वप्रधान चलचित्रमा वैचारिक द्वन्द्वलाई प्रस्तुत गर्ने बताउनुभयो ।
झन्डै आठ वर्षपछि निर्देशक तुलसी घिमिरे पनि निर्देशनमा फर्किनुभएको छ । उहाँले ‘पहाड’ नामक चलचित्रको छायाङ्कन गरिरहनुभएको छ । उहाँले आज नयाँ वर्षको सन्दर्भ पारेर चलचित्रको प्रदर्शन कात्तिक ७ मा हुने घोषणा गरिएको छ । निर्देशक घिमिरेले दर्शकको विश्वास चलचित्र र चलचित्रकर्मीप्रति बढेको महशुस गर्नुभएको छ । त्यही कारण उहाँ यो वर्ष चलचित्रकर्ममा फर्किनुभयो ।
‘केही समय मैले बनिरहेका चलचित्रको अध्ययनज्ञ नै गरेँ । हामीले विश्वका अन्य चलचित्रमा नभएका विषय र भावनात्मक कथालाई प्रस्तुत गर्नसक्नुपर्छ । चलचित्र हेर्ने संस्कृतिलाई बढाउन स–परिवार चलचित्र भवनमा आउने किसिमका चलचित्र निर्माण हुनुपर्छ । यो वर्ष नेपाली चलचित्रका लागि अघिल्लो वर्षभन्दा पनि उपलब्धिमूलक हुने विश्वास लिएको छु’ निर्देशक घिमिरेले भन्नुभयो ।
कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापासँगै विपिन कार्की र अरुण क्षेत्रीजस्ता नयाँ पुस्तासँग चलचित्रमा काम गर्नुभएका निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्री र जेठी छोरी भावना घिमिरेलाई प्राविधिक टिममा ‘प्रोडक्सन डिजाइनर’ को जिम्मेवारी दिनुभएको छ ।
‘अन्य पेसाकर्मीझैँ हामीलाई पनि सन्तानले हामीले गरिरहेको पेसा रोज्दा खुशी लाग्छ । मेरो दुवै छोरीले गरेको कामको मूल्याङ्कन मैले गर्दा अस्वाभाविक लाग्ला तर यो चलचित्रकर्म ठीक भन्ने लाग्नु सुखद् पक्ष हो । उनीहरु चलचित्रकर्ममा आउनुले चलचित्रप्रति उक्त पुस्ताको सकारात्मक सोचलाई दर्शाएको छ’ निर्देशक घिमिरेले भन्नुभयो ।
अभिनेत्री केकी अधिकारी वर्ष २०८२ मा प्रदर्शन हुने चलचित्रमा विविधता देख्न पाइनेमा आशावादी हुनुहुन्छ । अघिल्लो वर्ष घोषणा र छायाङ्कन गरिएका चलचित्र हेर्दा यो वर्ष नयाँपन र मौलिकतासँगै भव्यता पनि चलचित्रमा पाइने अभिनेत्री अधिकारीले बताउनुभयो ।
‘अघिल्लो वर्ष चलचित्रको विषयलाई दर्शकले हिरो बनाउनुभयो । यो हाम्रो लागि सुखद् खबर थियो । त्यसकारण पनि यो वर्ष चलचित्रमा कलाकारसँगै विषयमा निर्माताले लगानी गर्नुभएको छ । म एउटा चलचित्रकर्मीका हिसाबले जति उत्साहित छु, दर्शकमा पनि त्यही उत्साह छ भन्ने विश्वास छ’ अभिनेत्री अधिकारीले भन्नुभयो ।
गत वर्ष २०८१ को पहिलो चलचित्रका रुपमा उहाँले निर्माण गर्नुभएको ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो । चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा प¥यो । उक्त चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो । तर, यसले अकल्पनीय व्यापार ग¥यो ।
‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा १० करोड दुई लाख रुपैयाँको व्यापार भएको छ । यो चलचित्र सफलताको श्रेय विषयवस्तुलाई जान्छ । त्यसकारण गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । अभिनेत्री अधिकारी पनि यस वर्ष आफ्नो निर्माण रहने चलचित्रको छायाङ्कन गर्ने र आउँदो वर्ष प्रदर्शन गर्ने तयारीमा हुनुहुन्छ ।
समग्रमा यस वर्षलाई चलचित्रकर्मीले ठूलो आशाका साथ स्वागत गरेक छन् । वर्षकै पहिलो दिन सात चलचित्र प्रदर्शन तथा निर्माण घोषणा गरिएको छ । यो वर्ष कलात्मकसँगै व्यावसायिक चलचित्र उल्लेख्यरुपमा दर्शकले हेर्न पाउने छन् ।
यी हुन् २०८१ न्यून व्यापार गर्ने चलचित्र
गत वर्ष चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले इतिहास रच्दा केही चलचित्रले भने सामान्य व्यापार पनि गर्न सकेनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)’ मा रहेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन भए ।
गत साउन १८ गते प्रदर्शन भएको चलचित्र ‘शीरफूल’ ले ८९ वटा टिकट बिक्रीबापत १८ हजार ५०० रुपैया को मात्र कारोबार गरेको छ । यस्तै, फागुन ११ गते प्रदर्शन भएको चलचित्र ‘ख्या वोला’ले ९२ टिकटबिक्री गरेबापत २७ हजार ६००, त्यही मितिमा प्रदर्शन भएको चलचित्र ‘गाले वाना’ को ७२ टिकट बिक्रीबापत २१ हजार ६००, मात्रै कमाएको छ । साथै माघ ४ गते प्रदर्शन भएको चलचित्र ‘एक्टर’ को १२१ टिकट बिक्री भएबापत ३३ हजार २८५ र असोज ११ गते प्रदर्शन भएको ‘आँखा’ ले २६२ टिकट बिक्री भएबापत ९२ हजार ५२५ रुपैयाँको व्यापार (ग्रस) गरेको छ ।
व्यापारमा मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत र मनोरञ्जन करबापत पाँच प्रतिशत तिरिएको रकम कट्टा गरेर चलचित्र भवन र निर्माताले आधाआधा रकम पाउने गर्छन । त्यो रकममा वितरकले पाउने तय गरिएको रकम प्राप्त गरेपछि मात्र निर्माताले आफ्नो हिस्सा पाउने गर्छन् । तसर्थ उल्लेखित चलचित्रले गरेको व्यापारबाट निर्माताले पाउने रकम निकै न्यून हुन्छ ।
नवप्रवेशी निर्माताले बढी सँगसँगै न्यून व्यापार भएका चलचित्रको विवरणलाई पनि हेर्नुपर्ने पुर्नेन्दु झाले बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्माता बढी व्यापार भएको चलचित्र हेरेर हौसिने गरेको पाइन्छ, तर चलचित्र निर्माणभन्दा अगाडि न्यून व्यापार पनि हेर्नुपर्छ । किनकि यहाँ यस्तो नै हुन्छ भन्ने अवस्था हुँदैन । निर्देशकले पनि सुरुआती समयमै घाटा र नाफाबारे स्पष्टरुपमा बुझाउनुपर्छ ।’
उहाँले आश गरिएका केही चलचित्रको व्यापार राम्रो हुन् नसकेको बताउनुभयो । विशेषत अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा अब्बल सावित भएका चलचित्रले घरेलु बजारमा दर्शक पाउन सकेनन् । ‘शाम्बाला’ र ‘राजागञ्ज’ चलचित्रको व्यापार नहुनु दुःखद् रहेको निर्देशक झाको बुझाइ छ ।
‘कलात्मक चलचित्रको घरेलु बजार उत्साहजन देखिएन तर चलचित्र निर्माणमा भिन्नता आउनु आवश्यक छ । ती चलचित्र निर्माण तथा निर्देशन गर्ने चलचित्रकर्मीको आटलाई हामीले हौसला दिनु जरुरी छ’ निर्देशक झाले भन्नुभयो ।
यस वर्ष प्रदर्शन भएको चलचित्र ‘शाम्बाला’ ले दुई करोड १२ लाख २२ हजार ३२५ र ‘राजागञ्ज’ ले १६ लाख २१ हजार ८८१ रुपैयाँको व्यापार (ग्रस) मात्र गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गभर्नर नियुक्तिमा उमेरहद संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
- मानव अधिकार आयोगद्वारा शिक्षकका माग वार्ताबाट समाधान गर्न आग्रह
- कर्मचारीले सातामा २ दिन जातीय वेशभूषा लगाउनुपर्ने
- सर्वोच्चद्वारा छविलाल जोशीलाई थुनामा पठाउनुको कारण माग
- त्रिविको उपकुलपति जिम्मेवारी डा केसीलाई
- बूढीगण्डकी आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
- स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य : अध्यक्ष दाहाल
- स्थानीय तहलाई राजस्वको १२ प्रतिशत ऋण उठाउन सिफारिस
- ‘नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्’
- सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा