
लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । बौद्ध अध्ययन सङ्कायअन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले आज लुम्बिनीमा आयोजित ् कार्यक्रमबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापनाको घोषणा गर्नुभयो । क्यालिफोर्नियाबाट छोटो अवधिको बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उहाँले केही सातामै भर्ना प्रक्रिया शुरु गर्ने बताउनुभयो ।
विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेसनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ । त्यही सेन्टरबाट छोटो अवधिको शैक्षिक कार्यक्रमका लागि २५ जना विद्यार्थी लुम्बिनी आएका हुन् । उनीहरुले दुई क्रेडिटको कक्षा लिएका छन् ।
त्यसअवसरमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका लागि ४० भन्दा बढी संस्थाहरुसँग सहकार्य सम्झौता गरी अघि बढेको बताउनुभयो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणाअनुसार स्थापित भएको विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि अध्ययन केन्द्र स्थापना गर्दै जाने बताउनुभयो ।
बौद्ध अध्ययन सङ्कायका डिन डा माणिकरत्न शाक्यले छोटो अवधिको शैक्षिक कार्यक्रममा विदेशी विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताउनुभयो । अमेरिकाका विद्यार्थीहरुले बौद्ध अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय रोजेको भन्दै उहाँले धन्यवाद दिनुभयो । यसअघि चिनियाँ विद्यार्थीको टोलीले छोटो अवधिको बौद्ध अध्ययन गरेको थियो ।
इन्टरनेसनल जेन मेडिटेसन सेन्टर क्यालिफोर्नियाकी प्रमुख भिक्षुणी ज्यु नेले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्न पाउँदा आफूहरु उत्साहित भएको बताउनुभयो । बौद्ध शिक्षाको विकासका लागि आफूहरुले सहकार्यमा काम गर्दै जाने बताउनुभयो ।
छोटो अवधिको शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गर्नुभएका विश्वविद्यालयका सहप्राध्यापक डा सागर न्यौपानेले छोटो अवधिका कार्यक्रममा विदेशी विद्यार्थीहरुको आकर्षण देखिएको बताउनुभयो । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न आउने अध्येताहरुले छोटो अवधिको शैक्षिक कार्यक्रम लिन सक्ने भएकाले यसले फाइदा हुने उहाँले बताउनुभयो ।
विश्वविद्यालयले बौद्ध अध्ययन सङ्कायअन्तर्गत विभिन्न छोटो अवधिका शैक्षिक कार्यक्रम घोषणा गरेको छ । ३ दिनदेखि १५ दिनसम्मका शैक्षिक कार्यक्रम प्राज्ञिक परिषद्बाट स्वीकृत गरी लागू गरिएको डिन शाक्यले बताउनुभयो । व्यक्तिगत तथा समूहगत रुपमा छोटो अवधिको बौद्ध अध्ययन गर्न सकिने उहाँले बताउनुभयो ।
बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम डिजाइन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै