+

बन्दीपुरमा ३ महिनामा १० हजार विदेशी पर्यटक भित्रिए

तनहुँ ।  जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । 


बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उल्लेखित सङ्ख्यामा पर्यटक यहाँ आएका हुन् । 

पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताउनुभयो । यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको सङ्ख्या २ हजार ३ सय ५२ जना रहेका छन् ।

यसैगरी क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष फुलमती थापाका अनुसार पर्यटन प्रहरीको ड्युटीबाहेक अन्य समयमा नाम दर्ता गरेका तर विभिन्न होटलको तथ्याङ्कअनुसार थप एक हजार ९८१ जना विदेशी पर्यटक बन्दीपुर पुगेका छन् । प्रमुख पर्यटकीय गन्तव्यहरू काठमाडौँ र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरु प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन् । 

बन्दीपुरमा आउने विदेशी पर्यटक मध्ये सबैभन्दा धेरै चीनका रहेका छन् । चीनबाट माघ महिनामा मात्रै एक हजार ५ सय पर्यटक आएका छन् । त्यसपछि जर्मनी, स्पेन, इटाली, फ्रान्स, अमेरिका र नेदरल्यान्डबाट आएका पर्यटक छन् । बन्दीपुरबाट सुन्दर हिमाल, विभिन्न खोला, नदी तथा फाँट सजिलै देखिन्छन् । यहाँ प्राचीन काठकलाले भरिएका घर समेत हेर्न पर्यटकहरू लालायित हुने गर्दछन् । बन्दीपुर गाउँपालिकासहितका अन्य सरोकारवाला पक्षहरूले सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्षका रूपमा घोषणा गरेर विभिन्न पर्यटकीय गतिविधि गरिरहेका छन् । सन् २०२५ भरि नै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न पर्यटकीय गतिविधि गर्ने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सन् २०२५ मा एक लाख बाह्य तथा दुई लाख आन्तरिक पर्यटन भित्र्याउने योजना रहेको बताउनुभयो । यस्तै, सन् २०२५ सहित २०२७ सम्म आठ लाख पर्यटक भित्र्याउने योजनासहित विभिन्न कार्यक्रम तय गरिने उहाँले जानकारी दिनुभयो । फेब्रुअरी १४ को अवसरमा आज यहाँ पर्यटक लक्षित विशेष कार्यक्रम आयोजना गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले जानकारी दिनुभयो । 

क्षेत्रीय होटल सङ्घ बन्दीपुर इकाइ सभापति फुलमती थापाले हाल आन्तरिक पर्यटक पनि बढेको बताउनुभयो । पछिल्लो समय यहाँ दैनिक करिब पाँच सय आन्तरिक पर्यटकहरू आउने गरेका उहाँले जानकारी दिनुभयो । यहाँ प्राचीन पुरातात्विक महत्वको बन्दीपुर बजार, टुँडिखेल सहिद स्मारक, थानीमाई मन्दिर, खड्गमाई मन्दिर, बिन्दवासिनी मन्दिर, मणिमुकुन्देश्वरी पदमार्ग ९मिनी ग्रेट वाल०, रानीवन, तीनधारा, पिकनिक स्पोर्ट, गुम्बा, रामकोट, धरमपानी, कोरीखाका ‘होमस्टे’, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, मौरीपालन र च्याउ उत्पादनका लागि कीट विकास कार्यक्रम लगायत पर्यटकीय केन्द्रका रूपमा परिचित छ । 

नेवारी, मगर, गुरुङ लगायत जातजातिका विभिन्न सांस्कृतिक वेशभूषा र रीतिरिवाज पनि यहाँका आकर्ष हुन् । बन्दीपुरबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«्र, मनास्लुलगायत हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । हिमालको लामो रेन्ज एकै ‘फ्रेम’ मा देखिने भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटक रमाउने गरेका छन् । 

पर्यटकलाई लक्षित गरी यहाँ होटलको विकास पनि निरन्तर भइरहेको छ । बन्दीपुर होटल सङ्घमा आबद्ध करिब ८० होटल र एक दर्जन घरबास सञ्चालनमा छन् । पृथ्वी राजमार्गअन्तर्गत तनहँुको डुम्रेबजारबाट एक किलोमिटर अगाडि बढेपछि बन्दीपुर गेटबाट आठ किलोमिटर यात्रा गर्दै बन्दीपुर बजार पुग्न सकिन्छ ।

हाल यहाँको ठूलढुङ्गाबाट बरालथोकसम्म केबलकार समेत सञ्चालनमा छ । केबलकारबाट आउँदा सात मिनेटमा नै बन्दीपुर पुग्न सकिने हुँदा पर्यटकलाई थप सहज भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट