
कैलाली । करिब ५ हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ ।
पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरविराहट र चहलपहलले घोडाघोडी ताल क्षेत्र थप रमणीय र मनमोहक भएको छ । सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब छ महिना उत्तर ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहने भएकाले तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने चराविद् डा हेमसागर बरालले जानकारी दिनुभयो । अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उहाँको भनाई छ ।
‘अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारा नोक्सान हुने भएकाले आहारको खोजीमा नेपाललगायतका दक्षिण क्षेत्र आउँछन्’ चराविद् बरालले भन्नुभयो– ‘यहाँको मौसम यो बेला अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले चराहरू आउँछन् ।’ उहाँका अनुसार दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन् ।
सेप्टेम्बरको अन्तिम सातादेखि घोडाघोडी क्षेत्रमा एक हजार बढीको सङ्ख्यामा चराहरू आउने गरेका पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डङ्गौराले जानकारी दिनुभयो । ‘यो बेला ठूलो सङ्ख्यामा विभिन्न देशबाट हजारौँ किलोमिटरको यात्रा तय गरेर यहाँ चराहरू आउने गरेका छन्उ’ हाँले भन्नुभयो– ‘यी चरा ६ महिनासम्म यहाँ बसोबास गर्छन् ।’ उहाँका अनुसार डिसेम्बरसम्म यहाँ आइपुगेका चरा मार्चमा फेरि आएकै ठाउँतिर फर्किन्छन् ।
‘संसारमा चराका ९ वटा उडान मार्ग रहेको बताइन्छ । आगन्तुक चराको नेपालमा दुई उडान मार्ग पर्दछन्, मध्य एसिया उडान मार्ग हुँदै चराहरू घोडाघोडी पुग्छन्’ चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले भन्नुभयो– ‘त्यसमा फिस्टे तथा हाँस प्रजातिका चराहरूका साथै सामुद्रिक चराहरू पर्छन् । कहिलेकाहीँ खोया हाँस पनि यहाँ देखिने गरेका छन् ।’ चौधरीका अनुसार घोडाघोडीमा अहिले आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दुरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।
‘साइबेरिया, मङ्गोलिया, उत्तरी चीनलगायतका देशबाट अहिले घोडाघोडीमा आगन्तुक चराहरू आइपुगेका छन्’ उहाँले भन्नुभयो– जाडो यामभरि यहाँका सिमसार क्षेत्रका साना ठूला तालमा ती चराहरू रमाउँछन् । फेरि यता गर्मी बढेपछि उतै फकिन्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध