+

संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने

ताप्लेजुङ । लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न  सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । 

किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो । ‘धाननाच’ लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । धाननाच स्तम्भ निर्माण गर्न करिब ५० लाख रुपैयाँ लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । लाखे जात्राका अवसरमा यो निर्माण कार्य शुरु गरिने छ ।

‘तोक्मेडाँडाको भित्तामा निर्माण गरिने स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ’ उहाँले भन्नुभयो । स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ । धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो । स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् ।

किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ । ‘स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो । धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै