+

सडक स्तरोन्नतिपछि स्थानीयवासीमा उत्साह

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले हुँदै वडा नम्बर १० भैसिपङ्खा जोडने काफ्ले–महभिर–खुरिला–मिलन चोक सडक स्तरोन्नति भएसँगै स्थानीयवासीमा उत्साह छाएको छ । 

आर्थिक वर्ष २०८०/८१ को सहरी विकास मन्त्रालयमार्फत विनियोजित बजेटबाट ग्रामीण सडक स्तरोन्नति गरिएको हो । एक करोड १० लाख रुपैयाँमा सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको स्थानीय सविना राईले बताउनुभयो । निर्माण व्यवसायी र उपभोक्ता समितिमार्फत सडक निर्माण भएको हो । काफ्ले–महभिर–खुरिलादेखि नोरपायासम्म सविन निर्माण सेवा नामक कम्पनीले ८० लाखको लागतमा सडक स्तरोन्नति गरेको हो । 

उपभोक्ता समितिमार्फत ३० लाख रुपैयाँ लागतमा मिलन चोकदेखि असिनेसम्मको सडक स्तरोन्नति गरिएको भोजपुर नगरपालिका–१० का वडाध्यक्ष सुबिन राईले जानकारी दिनुभएको छ । वडाध्यक्ष राईका अनुसार सडक चौडा गर्ने, खोला क्षेत्रमा कजवे निर्माण, सोलिङ, ढलान, पर्खाल लगाउनेलगायतका काम गरिएका छन् । 

मिलन चोक क्षेत्रबाट करिब २ सय मिटर सडक ढलान भएको छ । महभिर खोला, काल्चे खोला, खुरिला खोला साछिम खोलालगायतका क्षेत्रमा कजवे निर्माण गरिएको छ । विगतमा साँघुरो तथा सानो सडकका कारण समस्या हुने गरेको थियो । अब सवारी साधन सहज रुपमा सञ्चालन हुने स्थानीय ज्ञानबहादुर राईले बताउनुभयो । सडक स्तरोन्नतिले कृषि उपज व्यापारमा सहज हुने राईको भनाइ छ ।
 
ट्र्याक्टर, मोटरसाइकल समेत नचल्ने अवस्थाको सडक स्तरोन्नति हुँदा स्थानीयका लागि सुविधा भएको स्थानीय लक्ष्मी राईले बताउनुभयो । राईले भन्नुभयो– ‘नाम्लो र डोकोको भरमा स्थानीयस्तरमा उत्पादित सामग्री हाट बजारसम्म पुर्याउनुपर्ने अवस्थामा अब सडक बनेपछि सहज भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै