+

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि चलिआएको वाक्य हो । यसको माग विभिन्न जिल्लाका साथसाथै विदेशमासमेत हुने गर्दछ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ थानापति थोर्गाको गुडको आफ्नै ब्रान्ड छ । अहिले यही गुडलाई बजारीकरणको प्रयास भइरहेको छ । 

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (नार्क) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र हेफर प्रोजेक्ट नेपालले संयुक्त रुपमा थेर्गोली गुडको बजारीकरणको प्रयास थालेका हुन् । नार्कले विशेषगरी गुडको बजारीकरण गर्न भौगोलिक सङ्केत दिने काम गर्दै आएको छ । थानापतिका ७० वर्षीय इन्दुवर ज्ञवालीले पाँच रोपनी आफ्नो र २७ रोपनी जग्गा भाडामा लिएर उखुखेती गर्नुभएको छ । उहाँले उखुबाट वार्षिक १२ हजार ६ सय लिटर उखुको रस र त्यसबाट चार हजार दुई सय लिटर खुदो बनाउनुहुन्छ । उहाँले गुड र खुदो बिक्री गर्दै आउनुभएको छ । 

मौसमअनुसार उखुको उत्पादनमा घटबढ हुने हुँदा गुड र खुदोको उत्पादनमा पनि घटबढ हुन्छ । परम्परादेखि नै उखु खेतीमा लागेका ज्ञवाली पछिल्लो वर्षमा थप व्यावसायिक बन्नुभएको छ । उहाँले गत वर्ष प्रति लिटर २ सय २० मा १६ टन खुदो बिक्री गरेको बताउनुभयो । उहाँले उखु खेती, प्रशोधन र बजारीकरण आफैँ गर्दै आउनुभएको छ । 

‘विदेशबाट फर्केको छोरोले पनि अहिले फर्केर मेरै पेसा अँगालेको छ’ ज्ञवालीले भन्नुभयो– ‘गुड र खुदो बेचेर वार्षिक रु सात लाख रकम आम्दानी भयो ।’ उखु खेतीबाटै घरमा आफूसहित श्रीमती, छोराबुहारीको जीविकोपार्जन राम्रोसँग भएको उहाँको भनाइ छ । ज्ञवालीले अहिले विभिन्न संस्थासँग मिलेर गुडको बजारीकरण गर्न थाल्नुभएको छ । तर तराईबाट भेली ल्याएर थोर्गेली गुड भन्दै कतिपयले बिक्री गरेकामा उहाँको गुनासो छ । 

थानापतिकै अर्का किसान शिशिरराज ज्ञवालीले अहिले खुदो र गुड खरिद गर्न ग्राहक घरमै आउने भएकाले बजारीकरणको कुनै समस्या नभएको बताउनुभयो । उहाँले कूल १५ रोपनी जग्गामा उखु लगाउनुभएको छ । ज्ञवालीले पनि उखुको आफै प्रशोधन गरेर खुदो र गुड बनाउनुहुन्छ । ‘बजारीकरणको समस्या नभए पनि थेर्गेली गुडको राष्ट्रिय पहिचान बनाउनु छ’ उहाँले भन्नुभयो– ‘त्यसैका लागि अहिले हामी गुणस्तर वृद्धि गर्ने अभियानमा छौँ । अहिले गुड र खुदोको बजार राम्रो भएकाले उत्पादन गर्न थप हौसला मिलेको ज्ञवालीले बताउनुभयो । बुबाले पनि उखुखेती गरेकाले आफूले त्यही पेशा थामेको उहाँ बताउनुहुन्छ । उहाँ आफैले व्यावसायिक खेती गर्न थालेको २० वर्ष भयो । 

रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाका किसान हुमनाथ ज्ञवालीले पनि गुडमा भविष्य देखेर यस वर्षदेखि उखुखेती सुरु गर्नुभएको छ । उखु राम्रोसँग हुर्किन पाए एउटै घारको सय रुपैँयासम्म पर्छ । 

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत एवं गुडको बजारीकरणका अनुसन्धानकर्ता प्रदीप थापाले थोर्गेली गुडको विवरण सङ्कलन गरिरहेको बताउनुभयो । थोर्गाको गुडले भौगोलिक सङ्केत पाएमा बजारीकरणमा सहयोग पुग्ने र त्यसका साथै भौगोलिक सङ्केत पाए उपभोक्ताको उपभोगको तथा उत्पादक विचौलियाबाट मुक्त हुने उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै