
म्याग्दी । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।
जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् । ‘खेतबारीमा लगाएको बाली र तरकारीखेती बँदेल र बाँदरले नष्ट गरे, हुँदाहुँदा अब त घरभित्र नै पसेर हैरान पार्न थालेका छन्’ मङ्गला–५ का किसान टीकानाथ कँडेलले भन्नुभयो ।
कँडेलका अनुसार बँदेल, दुम्सी र बाँदर गाउँमा मात्रै होइन घरभित्र नै छिर्न थालेका छन् । मालिकाको वडा नम्बर ६ उपल्लो दुखु, वडा नम्बर १ निस्कोट र वडा नम्बर २ रुममा पनि वन्यजन्तुका कारण गाउँलेले सास्ती व्यहोर्नु परिरहेको छ । मालिका–६ उपल्लो दुखुकी डिलकुमारी रोका भन्नुहुन्छ– ‘यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।’
खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरभित्र राखेको भकारी तथा भान्छामा पकाएको खानेकुरासमेत खाइदिन थालेको उहाँले बताउनुभयो । खेतबारीमा बाँदर र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि पश्चिम म्याग्दीका किसानको हैरानी बढेको छ । वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।
वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर जङ्गलमा डढेलो लागेपछि बेँसीका बस्तीमा समेत पसेर दुःख दिन थालेका मङ्गला–५ छिस्वाङका निकेश पुनले बताउनुभयो । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले राति परेपछि बालीनाली नोक्सान गर्ने गरेको उहाँको भनाइ छ । बँदेलले रातिमात्र बाली नोक्सान गर्छ । ठूलै समूहमा देखिने बाँदरले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका उहाँ बताउनुहुन्छ ।
जिल्लाको पश्चिमतर्फका बस्तीमा बँदेल आतङ्क बढ्दै गएको किसान बताउँछन् । बँदेलले कैयन बच्चा यतै हुर्काइसकेका मालिका–१ का किसान टेकबहादुर विकले बताउनुभयो । दुम्सी आफ्नो बस्तीमा छ्यास्छ्यास्ती देखिने गरेका उहाँको भनाइ छ ।
बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैनन् । डढेलो लागेपछि वन क्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती÷बस्ती पसेका स्थानीय किसानले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न ६ विदेशीसहित ५२ जना पक्राउ
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी