
काठमाडौँ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताउनुभएको छ ।
रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताउनुभयो । उहाँले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिनुभयो ।
प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताउनुभयो ।
नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गर्नुभयो । आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताउनुभयो । उहाँले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गर्नुभयो । जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पु्र्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताउनुभयो ।
‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको त्यो जलविद्युत् आयोजना आजदेखि औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो ।
रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा कूल २२ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने
- अब निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
- कोरलामा व्यापारिक चहलपहल बढ्यो
- ‘द्वन्द्वकालका जघन्य अपराधलाई माफी दिन सकिँदैन’
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’