
काठमाडौँ । एशियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एशिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।
एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक (२०२५) प्रतिवेदन सार्वजनिक गर्दै एशियाली मुलुकको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनाव लगायत कारण एशिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडिबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एशिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत र सन् २०२६ मा चार दशमलव सात प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।
त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा दुई दशमलव तीन र सन् २०२६ मा दुई दशमलव दुई प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एशिया क्षेत्रको मुद्रास्फीति दुई दशमलव छ प्रतिशत थियो ।
नेपालको मुद्रास्फीति भने सन् २०२५ मा पाँच दशमलव दुई र सन् २०२६ मा पाँच प्रतिशत रहने अनुमान गरिएको छ । गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडिबीले जनाएको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।
‘अप्रिलको शुरुवातमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा कमी ल्याउन सक्ने अनुमान गरिएको छ । व्यापार क्षेत्रमा थप अनिश्चिततता देखिन सक्छ’ प्रतिवेदनमा भनिएको छ ।
साथै विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा अवरोध, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता युक्रेन-रुसको युद्धबाट सिर्जित समस्या लगायत कारणले जोखिम बढ्ने एडिबीले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने
- अब निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
- कोरलामा व्यापारिक चहलपहल बढ्यो
- ‘द्वन्द्वकालका जघन्य अपराधलाई माफी दिन सकिँदैन’
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’