खोटाङ । केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् ।
१२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती शुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ । शुरुका वर्षमा प्रतिकिलो चार सय रुपैयाँसम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब चार हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।
किबीका बेर्नासमेत उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष मात्र १४ लाख रुपैयाँ बढीको बेर्ना बिक्री गर्नुभएको थियो । करिब २५ रोपनी जमिनमा किबी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गर्नुभएको छ । एघार वर्षअघिदेखि किबी खेती शुरु गर्नुभएका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ । शेर्पाले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँ लगायतका ठाउँमा बिक्रीका लागि पु¥याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलमा प्रतिकिलो एक सयदेखि १ सय ५० रुपैयाँसम्ममा किबी बिक्री भइरहेको छ ।
विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताउनुभयो । ‘मेरो फार्ममा तीन सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा एक सय ५० किलोसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु’ उहाँले भन्नुभयो– ‘यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँ लगायत) मा सम्पर्क गरिरहेको छु । त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।’ किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित हुनुहुन्छ ।
किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउनुहुन्छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।
नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । ‘किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो । जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ । त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो’ उहाँले भन्नुभयो– ‘गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए । प्रतिकिलो एक सय ६० रुपैयाँका दरले हिसाब गर्दा १६ लाख रुपैयाँ हुन आउँछ । यो वर्ष पनि एक सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको ६० लाख रुपैयाँ बराबरको हुन्छ ।’
नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ । फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताउनुभयो ।
किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा १ करोड रुपैयाँ भन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो । जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती शुरु गरेका छन् ।
एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती शुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर