कैलाली । कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उहाँको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ ।
भजनी लगायत आसपासका बजारमा मलको खोजीमा रहनुभएका उहाँलाई मल नपाइएपछि गहुँखेती गर्न नपाइने होकी भन्ने चिन्ताले सताउन थालेको छ । ‘खेतमा पहिलेदेखि नै रासायनिक मल प्रयोग गर्दै आएकाले मल नहालेर उब्जनी हुँदैन’ उहाँ भन्नुहुन्छ– ‘दिनभर मलका लागि दौडधुप हुन्छ, साँझ रित्तो घर फर्कनुपरेको छ ।’
स्थानीय बजारमा मलको सहज आपूर्ति नहुँदा हरिप्रसादजस्तै भजनीका कैयौँ किसानले अझै खेती लगाउन सकेका छैनन् । गहुँखेती गरेका किसान पनि मल नपाएर तनावमा रहेका छन् । समयमा मल नपाएपछि मल नहालेरै गहुँ छर्नुभएका लक्ष्मण चौधरीको समस्या पनि उस्तै छ । उहाँले नौ बिघा क्षेत्रफलमा गहुँ लगाउनु भएको छ ।
‘नेपाली बजारमा मल कतै पाइँदैन । पाइए पनि एक कट्टा मल पाइन्छ, नौ बिघा खेतमा त्यो एक कट्टाले कसरी पु¥याउनु ?’ उहाँ भन्नुहुन्छ– ‘भारतीय बजारबाट व्यवहार हेरेर किसानलाई आफ्नो प्रयोगको लागि मल ल्याउन दिएको भए पनि सहज हुन्थ्यो ।’ भारतीय बजारमा मल उपलब्ध भए पनि सीमा प्रहरीले रोक लगाउने गरेको किसानहरुको गुनासो छ । व्यावसायिक प्रयोजनको लागि नभई व्यक्तिगत प्रयोजनको लागि भारतीय बजारबाट मल ल्याउन पाउनुपर्ने माग किसानले गर्दै आएका छन् ।
सरकारले किसानलाई खेतीको समयमा सहज रूपमा मल उपलब्ध गराउन नसकेको जुगराम डगौरा बताउनुहुन्छ । ‘कृषिमा राज्यले ठूलो लगानी गर्दै आएको बताउँछ, तर किसानले पैसा तिरेरै पनि समयमा मल पाउने स्थिति छैन’ उहाँले भन्नुभयो ।
भजानी नगरपालिका कृषिका लागि उर्बर हो । त्यहाँका अधिकांश नागरिकहरू कृषि पेशामा आबद्ध छन् । बाढी र डुबानका कारण बर्र्सातको खेती अधिकांश किसानले गर्दैनन् । हिउँदे खेती त्यहाँका किसानको मुख्य आयस्रोत हो । स्थानीय बजारमा मल नभेटेपछि भारतबाट दुई कट्टा मल ल्याएर आउनुभएका सुन्दर चौधरीले मल प्रहरीले नियन्त्रणमा लिएर भन्सार पुगेको गुनासो सुनाउनुभयो ।
किसानले मल नपाएको गुनासो आएपछि भजनी नगरपालिकाले सरोकारवाला निकायसँग छलफल गरेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरी सरकारले अनुदानमा छुट्याइएको मलको कोटाअनुसार भजनीका एक तिहाइ किसानको माग पूरा नहुने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ– ‘किसानको मागअनुसार मलको उपलब्धता हुने हो भने २५ देखि ३५ हजार क्विन्टल मल आवश्यक पर्छ ।’ किसानले एकदुई बोरा मल भारतीय बजारबाट खेतको लागि ल्याउँदा त्यसलाई अवरोध सुरक्षा निकायले गर्न नहुनेमा जोड दिएका छन् ।
नगरपालिकाका नगर प्रमुख केवल चौधरीले मलको समस्या वर्षेनी किसानले झेल्दै आएको बताउँदै समाधानका लागि नगरपालिकाले प्रयास गर्दा पनि सफल हुन नसकिएको बताउनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर