+

विवाहपञ्चमीमा जन्ती स्वागतको तयारी

महोत्तरी । मधेशको मिथिलाञ्चल क्षेत्रमा मनाइने सांस्कृतिक पर्व विवाहपञ्चमी (रामजानकी विवाह) महोत्सवको महोत्तरीमा तयारी थालिएको छ । 

विवाहपञ्चमीमा भारतको अयोध्याबाट आउने जन्तीको स्वागतका लागि महोत्तरीमा तयारी थालिएको हो । जन्ती नेपाल प्रवेश गर्ने नाका महोत्तरीको मटिहानी र भिठ्ठामोर हुन् । अहिले जिल्लाका मटिहानी, जलेश्वर र पिपरामा जन्तीको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ । 

यस वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बोलाउने श्रीरामको तिलकोत्सवको कार्यक्रम जनकपुरधामबाट गएको टोलीले भारतको अयोध्यामा सम्पन्न गरेको छ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोलीले गत सोमबार अयोध्यामा जन्ती आउने जानकी मन्दिरको निमन्त्रणापत्र अयोध्यास्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायलाई हस्तान्तरण गरिसकेको छ । 

साथै मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले एक धार्मिक समारोहबीच सोही दिन श्रीरामको तिलकोत्सव पनि सम्पन्न गरेको छ । तिलकोत्सवमा दुलहीपक्षले दुलहालाई वस्त्रआभूषण, शृङ्गार प्रसाधन सामग्री र फलफूलसहित मिष्ठान्न परिकारका साथ पूजन ९वरण० गर्ने मैथिल परम्परा छ । यो पारम्परिक विधि सम्पन्न भएसँगै अब मिथिलामा औपचारिक रुपमा विवाहपञ्चमी महोत्सव सुरु भएको छ । 

मैथिल परम्परामा मङ्सिर सघन रुपमा विवाहसम्बन्ध जोड्ने उपयुक्त महिना मानिन्छ । कैयन हासपरिहासका रमाइला विधिले सम्पन्न गरिने हिन्दू मैथिल परम्पराको विवाह आफैँमा उत्सव रहेको जानकारहरु बताउँछन् । यसमा आराध्य देव श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको महिना मङ्सिर भएकाले मैथिलका लागि यो महिना पहिलेदेखि विशेष उत्सवको रुपमा रहँदै आएको छ । अहिले यही विवाह महोत्सवका लागि महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिकाले जन्तीको स्वागत, खानपान र आवाससहितको प्रबन्धका लागि तयारी थालेका छन् । मङ्सिर शुक्लपञ्चमीका दिन मनाइने रामजानकीको विवाह महोत्सवको मुख्य विवाहको विधि भने यसपालि मङ्सिर २१ गते शुक्रबार परेको छ ।

अयोध्याबाट आउने जन्तीको नेपाल प्रवेशद्वार जिल्लाको भिठ्ठामोर र मटिहानी नाका भएकाले जन्तीको स्वागत, सत्कारका लागि आवश्यक तयारी सुरु गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो । श्रीराम जानकीको विवाहमा यज्ञवेदी बनाइने माटो मटिहानीको लक्ष्मीसागरमा खनिएको जनविश्वाससहित जिल्लामा महोत्सवको विशेष तयारी हुने गरेको उहाँले उल्लेख गर्नुभयो । 

रामजानकी विवाह महोत्सवको मुख्य पक्ष जनकपुरस्थित राममन्दिर र जानकी मन्दिर रहँदै आएका छन् । विभिन्न विधिसाथ सप्ताहव्यापी रुपमा मनाइने यो महोत्सवका लागि यसपालि पाँच वर्षपछि खास अवसर बनेको छ । ‘प्रत्येक पाँच÷पाँच वर्षको महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने परम्परा छ । यसपाली जन्ती आउने पालो परेकाले यसको तयारी तीव्र पारिएको हो’ नगरप्रमुख मण्डलले भन्नुभयो ।

अयोध्याबाट आउने जन्ती मटिहानीमा एक बास बसेर जलेश्वर हुँदै जिल्लाको पिपरा गाउँपालिकालाई छिचोल्दै जनकपुर जाने चलन छ । यसअनुसार अहिले जन्तीको बास हुने र बाटोमा पर्ने महोत्तरीका स्थानीयतहले स्वागत, सत्कार, खानपान तथा आवासको उचित प्रबन्धको तयारी शुरु गरेका नगरप्रमुख मण्डलले जानकारी दिनुभयो । 

यो तयारीसँगै यी ठाउँमा अहिलेदेखि नै रामसीताका विवाहसम्बन्धका कथा र भाव समेटिएका गीत गुञ्जदैछन् । सबैतिर महोत्सवको उल्लास छाएको छ ।

‘जन्ती  मङ्सिर १७ गते सोमबार मटिहानी आइपुग्ने तालिका बनेको छ, हामी त्यसअनुसार तयारीमा जुटिसकेका छौंँ’  मटिहानी नगरप्रमुख मण्डलले भन्नुभयो– ‘त्यसै पनि मिथिलामा हुने विवाहमा जन्तीको स्वागत विशिष्ट तवरले गरिने चलन छ । यो श्रीराम र जानकीको विवाहका जन्ती हुन्, हामीले कुनै कमी हुन नदिने गरी तयारी थालेका छौँ ।’ उहाँका अनुसार यसका लागि मटिहानी, जलेश्वर र पिपराका जनप्रतिनिधि, धार्मिक तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र साधुसन्तबीच आवश्यक तयारीको प्रबन्धबारे सघन छलफलसमेत भइरहेका छ । 

यस वर्ष अयोध्याबाट पाँच सयको सङ्ख्यामा त्यहाँस्थित श्रीराम ट्रष्टका सचिव चम्पत रायको नेतृत्वमा जन्ती आउने कार्यक्रम तय भएको नगरप्रमुख मण्डलले जानकारी दिनुभयो । विशिष्ट अतिथिका लागि स्वागत सत्कारसँगै भोजन र आवासको प्रबन्ध गरिने उहाँले स्पष्ट पार्नुभयो । जन्ती भोलिपल्ट अर्थात् मङ्सिर १८ गते मटिहानीबाट जनकपुरका लागि प्रस्थान गर्नेछन् । 

यस क्रममा जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेवको दर्शन गराइ उहाँहरुलाई खाजा चिया ख्वाइने कार्यक्रम बनेको छ । यसको तयारीमा जलेश्वर नगरपालिका जुटेको छ । ‘हामीले जन्तीका लागि महोत्तरीको बाटो सधैंँ सम्झनयोग्य बनाउने तयारी गरेका छौँं’  जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले भन्नुभयो– जिल्लाका सम्बद्ध तीनवटै स्थानीयतह (मटिहानी, जलेश्वर र पिपरा) बीच अहिलेदेखि काम र जिम्मेवारी छुट्याएर तयारी थालेका छौँ, तीनै ठाउँका जनप्रतिनिधिबीच आपसी समन्वय भइरहेकाले यस वर्ष पनि अयोध्याबाट आउने जन्तीका लागि विशेष बनाउँछौँ ।’

जलेश्वरबाट अघि बढेपछि जन्तीको दिवा भोजन र त्यसपछिको विश्राम पिपरामा हुनेछ । पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले यस कार्यमा सम्पूर्ण पिपरावासी तयारीमा जुटेका बताउनुभयो । पिपरावासी विशिष्ट अतिथिको स्वागतको पर्खाइमा रहेका उहाँको भनाइ छ । 

मटिहानी, जलेश्वर र पिपरासहितका तीनै स्थानीयतहमा जन्तीको स्वागत तयारीमा आम सर्वसाधारण सरिक हुँदैछन् । सप्ताहव्यापी विवाह महोत्सवमा मटिहानी, जलेश्वर र पिपरा हुँदै अयोध्याबाट आएका जन्ती जनकपुर पुगेपछि ती जानकी मन्दिरका अतिथि हुन्छन् । जनकपुर बसाइँको सबै प्रबन्ध जानकी मन्दिर व्यवस्थापनले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो । महोत्सवमा कुनै त्रुटि हुन नदिन सचेतता अपनाइने उहाँले उल्लेख गर्नुभयो ।

सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा सात दिनका फरक–फरक विधि हुन्छन् । गुरु विश्वामित्रसँग भाइ लक्ष्मणका साथ श्रीराम जनकपुर प्रवेश गर्नुभएको पहिलो दिनलाई जनकपुर नगर दर्शनका रुपमा उत्सव मनाइन्छ । यसैगरी श्रीराम र जानकीको फुलबारीमा जम्काभेट भएको दिनलाई फूलबारीलीला, त्यसपछि धनुषयज्ञ, स्वयम्बर, तिलकोत्सव, मटकोर, शुभविवाह र रामकलेवाका विधि छन् ।

मटकोर विवाहमण्डप बनाइएर विवाहअघि कूलदेवताको पूजा गरिने र अन्तिम दिनको रामकलेवा जन्तीलाई बिदाइ गरिने परम्परासँग जोडिएका विधि हुन् । यस महोत्सवमा जनकपुरस्थित श्रीराम मन्दिरका महन्थ दुलहाका पिता राजा दशरथको र जानकी मन्दिरका महन्थ राजा जनकको भूमिकामा हुन्छन् । दुवै सम्धीबीच मैथिल परम्पराको हाँसख्याल ठट्टाले त्रेता युगकालीन श्रीराम जानकीको विवाहमा यस्तै रमाइलो भएको अनुमान गर्दै दर्शक दङ्गपर्ने गरेका साहित्यकार डा राजेन्द्रप्रसाद विमलले बताउनुभयो । 

मिथिलाको यो विशिष्ट सांस्कृतिक महोत्सवमा वर्षेनी नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन सहभागी हुँदै आएका छन् । नेपाल र भारतबीच ‘रोटीबेटी’ को सम्बन्ध श्रीराम सीताको विवाहपछि बाक्लिएको त्यसयताका धार्मिक ग्रन्थबाट र पछिल्ला दिनमा भइरहेका सम्बन्धबाट उजागर भइरहेको मैथिल लोकसंस्कृतिका ज्ञाता जलेश्वर–५ का ध्रुव रायले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट