तुलसीपुर । दाङको विकट भनिने बबई गाउँपालिका–७ मलैबासीका लागि अहिले विगतमा जस्तो दुःख छैन । विगतमा सडकको सहज पहुँच नहुँदा स्ट्रेचर वा डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजानुपथ्र्यो । बीचबाटोमा जङ्गल भएकाले जनावरको पनि उत्तिकै डर हुन्थ्यो । तर, अहिले सडकको पहुँचले धेरै सहज भएको छ ।
‘पहिलो सडक नहुँदा धेरै गाह्रो थियो, चालु आर्थिक वर्षमा प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि र५० लाख बजेट विनियोजन गरेको छ । बजेटबाट बर्खामा पनि सवारी चलाउन मिल्ने गरी सडक स्तरोन्नति गरिनेछ’ स्थानीय बमबहादुर बुढाले भन्नुभयो । उहाँले प्रदेशसभा सदस्य धनबहादुर मास्कीलाई अनुरोध गरेपछि बजेट विनियोजन भएको उल्लेख गर्दै बजेटलाई बहुवर्षीय बनाउने गरी पहल भइरहेको बताउनुभयो ।
साथै पछिल्लो समय यहाँ सञ्चारको पनि सुविधा पुगेको छ । केही वर्षअघिसम्म फोन गर्नका लागि दुई घण्टा हिँडेर डाँडोमा जानुपथ्र्यो । हाल कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । आगामी वैशाखदेखि टेलिकमको पनि सेवा पुग्ने वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो । ‘फोन नलाग्ने यहाँको मुख्य समस्या हो’ उहाँले भन्नुभयो– ‘टावर निर्माण भइरहेको छ, वैशाखदेखि सेवा सञ्चालनमा आउँछ ।’
मलैको बस्ती राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बँदेल, बाँदर लगायतबाट बाली जोगाउन गाह्रो हुन्छ । केही स्थानमा तारबार लगाइए पनि अधिकांश ठाउँमा तारबार छैन । राष्ट्रिय निकुञ्जलाई अनुरोध गरेकाले त्यसलाई सम्बोधन गर्ने आश्वासन आएको स्थानीय टोपबहादुर बस्नेतले बताउनुभयो ।
मलैमा दुईवटा विद्यालय छन् । तीमध्ये सरस्वती प्रावि जलजलामा कक्षा ५ सम्म पढाइ हुन्छ भने देउती मावि तल्लो मलइमा कक्षा १० सम्म पढाइ हुन्छ । कक्षा ११ देखिमाथिको कक्षाका लागि भने तुलसीपुर वा घोराही पुग्नुपर्ने अवस्था छ । कक्षा १२ सम्म त्यही ठाउँमा पढाइ हुने वातावरण मिलाउनुपर्ने स्थानीय बस्नेतले बताउनुभयो ।
खानेपानी र सिँचाइको भने सहज पहुँच छ । विद्युत् पनि दुई वर्ष अघि पुगेको छ । विद्युत् पुगेपछि त्यहाँका नागरिकलाई थप सहजता भएको छ । एउटा स्वास्थ्य चौकी छ । त्यसलाई थप सुविधा सम्पन्न बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
बसाइँसराइ बढ्दै
त्यही क्षेत्रबाट बसाइँसराइ गरेर बाहिर जानेको सङ्ख्या भने घटेको छैन । प्रत्येक वर्ष १० देखि १५ परिवार बसाइँसराइ गरेर बाहिर जाने गरेका छन् । तर, अब सञ्चार र सडकको पहुँच पुग्ने वित्तिकै बसाइँसराइ पनि घट्ने अपेक्षा गरिएको स्थानीय सिवानी बस्नेतले बताउनुभयो । ‘सडक र सञ्चारको विकास हुन लागेको छ’ उहाँले भन्नुभयो– ‘त्यो विस्तार भएमा बसाइँसराइ पनि घट्छ कि भन्ने लागेको छ ।’
जनगणना २०७८ अनुसार तीनसय २५ घरधुरी भए पनि अहिले करिब दुई सय मात्रै बाँकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर