सुनसरी । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किनुभयो । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन ।
एक्काइस वर्षअघि मलेसियाका साथीले नेपाल आउँदा ल्याइदिएको बिरुवाले यसरी फल दिन्छ भन्ने उहाँले सोच्नु पनि भएको थिएन । ड्रागन फलको त्यही बिरुवाबाट अहिले उहाँ यसको व्यावसायिकखेतीमा क्रियाशील हुनुहुन्छ । सुरुमा त उहाँलाई थाहा थिएन, यो फल यत्ति महङ्गो र स्वास्थ्यका लागि लाभदायी हुन्छ भनेर ।
अन्य फलको तुलनामा यसको मूल्य निकै रहेकाले उहाँ यसतर्फ आकर्षित बन्नुभएको हो । व्यवसाय शुरु गर्दा स्थानीय बजारमा पनि प्रतिकेजी एक हजार दुई सय रुपैयाँ मा बिक्री वितरण हुने थाहा पाएपछि उहाँ निकै हौसिनुभएको थियो । अहिले उहाँलाई आफूले उत्पादन गरेको ड्रागन फलको बजारीकरणमा कुनै समस्या छैन । भाटभटेनी सुपरमार्केसँग समन्वय गरी बिक्री गर्ने गर्नुभएको छ ।
केही वर्षअघि रामधुनी नगरपालिका–७ रानीपोखरीमा किनेको एक बिघा जग्गा त्यत्तिकै उपयोगविहीन नै थियो । त्यही जग्गामा दुई सयवटा ड्रागनको बिरुवा लगाएर खेती शुरु गर्ने निधो गर्नुभयो । शुरुमा त उहाँलाई धेरैले गलत निर्णय गरेको भन्दै आलोचना पनि नगरेका होइनन् तर उहाँ आफ्नो योजनामा प्रस्ट हुनुहुन्थ्यो । त्यतिबेला पूर्वमा ड्रागनखेती गर्नेको सङ्ख्या थोरै मात्र थियो । कोहीकोहीले घरको छत र बारीमा दुई/चार बोट मात्रै लगाएका थिए ।
अन्य फलफूल वर्षमा एकपटक मात्र उत्पादन गर्न सकिन्छ भने ड्रागन फल वर्षमा १० पटकसम्म फलाउन सकिन्छ । उहाँले भन्नुभयो, ‘‘राम्रो उत्पादनसंँगै आम्दानी पनि राम्रो हुने गरेको छ । अहिले वार्षिक ५० लाख रुपैयाँ सजिलैआम्दानी हुने गरेको छ भने खेतीमा मल, कर्मचारी खर्च सबैगरी वार्षिक १२ लाख रुपैयाँ जति खर्च हुने गरेको उहाँले बताउनुभयो ।
फलसँगै उहाँले बिरुवा बिक्री गरेर पनि राम्रो आम्दानी हुने गरेको उहाँले बताउनुभयो । बिरुवा मात्र बेचेर उहाँले वर्षमा दुई लाख रुपैयाँ बढीको आम्दानी गर्दै आउनु भएको छ । पूर्वमा ड्रागनखेती गर्ने ८० प्रतिशतभन्दा बढी किसानले यहीँबाट बिरुवा खरिद गरेर लाने गरेको उहाँको भनाइ छ । कुनै समय भने बिरुवाको माग अत्यधिक भएकाले बिक्रीका लागि बिरुवा माग पूरा गर्न नसक्ने अवस्था हुने गरेको उहाँले सुनाउनुहुन्छ ।
शुरुवात समयमा त उहाँले फलबाट भन्दा धेरै बिरुवा बिक्री गरेर आम्दानी गर्नुभएको थियो । उहाँले भन्नुभयो–‘ ‘पहिले बिरुवा एक बोटको दुई सयदेखि चार सय रुपैयाँ सम्म बिक्री गर्ने गरेकामा अहिले भने प्रतिबिरुवा ५० रुपैयाँ मा बिक्री हुने गरेको छ ।’ फल भने खुद्रामा अहिले चार रुपेयाँ मा बिक्री गर्दै आउनुभएको छभने थोकमा तीन सय ५० मा बिक्री हुने गरेको उहाँले बताउनुभयो । व्यावसायिक रुपमा ड्रागनखेती गर्न थालेपछि उहाँले तर्जुमा ड्राइगन फ्रुट कृषि फार्म नै दर्ता गर्नु भएको छ । उहाँको फार्ममा प्रत्यक्ष अप्रत्यक्ष धेरैले रोजगारी पनि पाएका छन् ।
उहाँको देखासिकी गरी अहिले धेरै युवाले ड्रागनखेती गर्न थालेका छन् । सुनसरीको तरहरामा जन्मिनुभएका भारतीय पूर्वलाहुरे कृष्णकुमार घले १७ वर्ष भारतीय सेनामा बिताएपछि २०७४ सालमा निवृत्त भई नेपाल फर्किनुभएको थियो । उहाँले नेपाल फर्केपछि बाँकी समय किन त्यत्तिकै खेर फाल्ने भन्ने सोचले व्यवसाय गर्ने निधो गर्नुभयो । सुरुमा उहाँले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा कागतीखेती शुरु गर्नुभयो, दुई वर्षजति कागतीखेतीमै बित्यो ।
पछि कागतीखेतीबाट भने जस्तो राम्रो आम्दानी हुन नसकेपछि पूरै एक विघा जग्गामा शुरु गर्नुभएको कागतीखेती सबै डोजर लगाएर सबै हटाउनुभयो । उहाँले भन्नुभयो– ‘कागतीखेतीबाट त्यति नराम्रो नै चाहीँ भएको हैन तर जति आम्दानी हुन्छ भनेर सुरु गरेको कागतीखेती त्यति आम्दानी भएन ।’ त्यसपछि आफ्नै काका कृपाश्वर घलेको ड्रागन खेती देखेर त्यहीँबाट प्रेरित भएर ड्रागनखेती शुरु गरेको बताउनुभयो । उहाँले २०७५ फागुनमा तमु कृष्ण बहुद्देश्यीय कृषि फार्म दर्ता गरेर एक बिघाको पूरै जमिनमा ड्रागनखेती शुरु गरेको बताउनुभयो ।
कागतीखेतीको तुलनामा अहिले ड्रागनखेतीबाट राम्रो आम्दानी भइरहेकोे उहाँले बताउनुभयो । वार्षिक ४० लाख रुपैयाँ बढी आम्दानी हुन्छ भने १० लाख रुपैयाँ जति खेतीमा मल, काम गर्ने कर्मचारीलाई सालरी सबै खाना पानी गरेर वार्षिक खर्च हुने गरेको उहाँले बताउनुभयो ।
ड्रागनखेती शुरु गरेपछि आर्थिक रुपमा सबै व्यवस्थित हुँदै गयो, जब ड्रागनखेती शुरु गरे आफैँलाई पनि राम्रो भएको छ भने ड्रागन व्यापार गर्ने किसान र व्यापारीका लागि पनि एउटा आकर्षक कृषि फार्मको केन्द्रका रुपमा विस्थापित भएको उहाँले बताउनुभयो । उत्पादन भएको फल बिक्रीका लागि समस्या छैन, पूर्वी पहाडी भेगका व्यापारीहरु ड्रागन खरिद गर्नका लागि फार्ममा पुग्ने गरेका छन्भने स्थानीय बजारका व्यापारीहरु पनि खरिदका लागि फार्ममै पुग्ने गरेको उहाँले बताउनुभयो ।
बिक्रीका लागि धेरैजसो इटहरी, धरान, विराटनगरमा मात्र नभई काठमाडाँै, पोखरासम्म बिक्रीका लागि पठाउने गरेको बताउनुभयो । यो फलफूल फुल्न शुरु गरेको ४५ दिनमा फल पाक्ने हुँदा वार्षिक रुपमा सजिलैसँग १६ देखि २० मेट्रिक टनसम्म उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।
अहिले सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागनखेती गर्दै आएका छन् । विदेशबाट फर्केका युवाहरुले पछिल्लो समय ड्रागनखेतीतर्फ आकर्षित भएका छन् । कतिपय विदेश पलायन हुन लागेका युवाले पनि आफ्नै देशमा व्यवसाय गरे आम्दानी गर्न सकिने रहेछ भन्ने प्रेरणा उहाँबाट लिएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर