ललितपुर । मैथिली भाषामा पहिलोपटक गद्यमा लिखित ‘अर्चनाकृत रामायण’ प्रकाशन भएको छ ।
पत्रकार तथा साहित्यकार अर्चना झाले मैथिलीमा रामायण लेख्नु त्यो भाषाको साहित्यका लागि ऐतिहासिक महत्वपूर्ण कदम हो । उहाँले ‘वाल्मीकि रामायण’ र तुलसीदासकृत ‘रामचरितमानस’ लाई आधार बनाएर आफ्नै मौलिक शैली र स्थानीय भाषामा रामायणको पुनःलेखन गर्नुभएको हो जसले धार्मिक साहित्यको अभावलाई पूरा गरेको छ ।
महोत्तरी, सोनमा–८ मा पिता प्रेमनारायण र माता गीताको कोखबाट जन्मनुभएका झाले कोरोना महामारीका समयलाई सदुपयोग गर्दै चार वर्ष लगाएर सो ग्रन्थ लेख्नुभएको हो । जुन तीन सय पृष्ठमा चौंसठ्ठी हजार शब्दमा लेखिएको यस कृतिमा सीतारामको जीवन, कर्तव्य र काम सरल मैथिली भाषामा वर्णन गरिएको छ । यसले धर्मका साथै नैतिकता, आदर्श, प्रेम, जिम्मेवारी, आत्मशक्ति, चरित्र र आध्यात्मिक शिक्षा पनि दिने कोसिस गरेको छ । लेखिकाको लेखनशैली सजीव छ, जसले रामायण कथालाई सुन्दर ढङ्गले प्रस्तुत गर्छ । कथानुसार लोकभाका, गीत र मिथिला चित्रहरूको संयोजनले कृतिलाई अझ सुन्दर बनाएको छ ।
आठ काण्ड रहेको कृतिमा सीताका बारेमा विशेष वर्णन छ । दुई प्राचीन कृतिलाई आधार बनाई लेखिए पनि यसमा केही नवीनता पनि पाइन्छ जसले मैथिली समाजको संस्कार, संस्कृति र जनजीवनलाई प्रतिविम्बन गर्छ । यसले गर्दा यो नेपाली र भारतीय मिथिला समाजको परिवेशमा अझ सान्दर्भिक भएको छ ।
लेखिकाले भगवान् श्रीराम र माता सीतालाई केवल आदर्श राजारानी, पतिपत्नी, छोराबुहारी, वा योद्धा मात्र नभई भगवान् विष्णु र लक्ष्मीको अवतारका रूपमा चित्रण गर्नुभएको छ । त्यो अवतारले त्रेता युगमा मानिसहरूलाई मानव जीवनको कर्तव्य र जिम्मेवारीको महत्त्व सिकाउने उद्देश्य राख्छ । मानव भएर जन्म लिएका रामले कसरी आफ्नो दायित्व पूरा गर्छन् भन्ने कुरा रामायणको मूल शिक्षा हो । कृतिको मुख्य उद्देश्य मैथिली भाषामा सीतारामप्रति भक्तिभाव, सनातन धर्मको जागरण, नैतिक मूल्यको प्रचार र समाजमा आदर्श जीवनशैलीको उदाहरण प्रस्तुत गर्नु हो ।
कृतिमा बालकाण्डदेखि उत्तरकाण्डसम्मका सबै महत्त्वपूर्ण घटना र गीत समावेश छन् । हरेक काण्डमा पहिले सङ्क्षिप्तमा सारांश तथा त्यसपछि गीत र कथाको विस्तार छ । यसमा रामायणका मुख्य पात्र राम, सीता, लक्ष्मण, भरत, शत्रुघ्न, दशरथ, वशिष्ठ, कौशल्या, कैकेयी, सुमित्रा, हनुमान, सुग्रीव, विभीषण, रावण, इन्द्रजित आदि प्रमुख पात्रको व्यक्तित्व समेटिनाका साथै सीतारामको सम्पूर्ण जीवन, सङ्घर्ष, विजय र आदर्श नेतृत्वको विषय कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
बालकाण्डमा रामको जन्म, बाल्यकाल, विश्वामित्रसँगको यात्रा, सीतासँग विवाहको कथा छ । अयोध्या काण्डमा रामको वनवास, कौशल्या, दशरथ र कैकेयीबीचको द्वन्द्व, जनताको प्रेम, दशरथको मृत्यु र भरतका कथाहरू समेटिएको छ । अरण्य काण्डमा रामको ऋषिहरूसँगको भेट, शूर्पणखाको आगमन, सीताको अग्नि प्रवेश र हरण तथा शबरीको मुक्ति समावेश गरिएको छ ।
किष्किन्धा काण्डमा रामको हनुमानसँग भेट, सुग्रीवसँगको मित्रता, बालिको वध र सीताको खोजीको कथा छ । सुन्दर काण्डमा हनुमानको लङ्का यात्रा, विभीषणसँगको भेट, सीताको खोज, लङ्का दहन र विभीषण रामको शरणमा आएको वर्णन छ ।
लङ्का काण्डमा सेतु निर्माण, लङ्कामाथि आक्रमण, लक्ष्मणको मुर्छा, रावणको वध, विभीषणको राज्याभिषेक, सीताको अग्नि परीक्षा र रामको अयोध्या फिर्तीको कथा छ । उत्तरकाण्डमा रामको राज्याभिषेक, सीताको वनवास, लवकुशको जन्म र अश्वमेध यज्ञको चर्चा गरिएको छ । अन्तिम उत्तर लवकुश काण्डमा लवकुशले रामलाई चुनौती दिएको, सीताले पृथ्वीमा शरण लिएको र रामले जल समाधि लिएको कथा समेटिएको छ । सीतामाताको रामायणमा भएको भूमिका छोटकरीमा उल्लेख गरिएको छ ।
रामायणमा महिलाहरूको भूमिका विशेष र महत्त्वपूर्ण छ । यस कृतिमा पनि सीता, कैकेयी, मन्थरा, मन्दोदरी, त्रिजटा, कौशल्या, शबरी र अन्य महिला पात्रका चित्रणमा विशेष ध्यान दिइएको छ । लेखिकाले सीतालाई केवल एक पीडित पात्रका रूपमा मात्र नभई बलियो, स्वाभिमानी, पतिव्रता, धैर्यवान् र आत्मनिर्भर नारीका रूपमा चित्रण गर्नुभएको छ । उहाँले सीतालाई सशक्तीकरणको प्रतीकका रूपमा देखाउनुभएको छ, जहाँ उनी एक आदर्श रानी, बुहारी, पत्नी र आमा भएर चुनौती पार गर्दै आफ्नो कर्तव्य पूरा गर्ने एक साहसी महिलाका रूपमा प्रस्तुत भएकी छन् ।
कृतिले मैथिली भाषामा नैतिक शिक्षा, हरेक प्राणीसँग प्रेम, मानवको चरित्र र धार्मिक मूल्यहरूलाई विशेष महत्त्व दिएको छ । रामायण केवल धार्मिक ग्रन्थ मात्र नभई एक प्रकारको नैतिक मार्गदर्शक र जीवनको पाठशाला पनि हो जसमा राम र सीताको चरित्रले प्रत्येक व्यक्तिलाई सत्यका मार्गमा हिँड्न प्रेरित गर्छ ।
कृतिमा मानक मैथिली भाषिक प्रवाहको कमी छ । परम्परागत रामायणकै कथालाई पछ्याइएको हुँदा खासै नयाँपन पाइँदैन । महिलाको सशक्त र नेतृत्वदायी भूमिकालाई अझ सशक्त रूपमा चित्रण गरिएको भए कृति अझ प्रभावकारी बन्न सक्थ्यो । अहिलेको डिजिटल युगमा रामायणलाई डिजिटल माध्यमबाट पनि प्रवद्र्धन गर्न सके अझ बढी पाठकमा पुर्याउन सकिन्छ । तैपनि मैथिली समाजमा यसले सांस्कृतिक र धार्मिक दृष्टिले ऐतिहासिक योगदान दिएको छ र मैथिली साहित्यमा एक नयाँ आयामको शुरुवात गरेको छ ।
नयाँ पुस्तामा रामायणको महत्त्व बुझाउन यसले विशेष भूमिका खेल्ने छ । मैथिलीभाषी समाजका लागि यो उल्लेखनीय कृति हो जुन धार्मिक, सांस्कृतिक र साहित्यिक दृष्टिले पनि महत्त्वपूर्ण छ । मिथिला क्षेत्रको जीवनशैली र धार्मिक आस्थालाई उजागर गर्दै यस रामायणले मैथिली भाषाको समृद्धि र सांस्कृतिक धरोहरको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।
कृति नेपाल र भारतका मैथिली भाषी समाजका लागि मात्र नभई समग्र मैथिली साहित्यको ऐतिहासिक निधिका रूपमा रहने विश्वास गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर