+

पुँजीबजार किन अस्थिर भइरह्यो ? अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पुँजीबजार अस्थिर भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुग्नुभएका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चाँसो व्यक्त गर्नुभएको हो ।

‘केही समयअघि मात्र नेप्से परिसूचक ३ हजार अंक भन्दा माथि र कारोबार रकम  ३० अर्ब रुपैयाँ हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम  पाँच÷छ अर्ब रुपैयाँमा खुम्चिएको छ’ अर्थमन्त्री पौडेलले भन्नुभयो– ‘किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ ।’

वर्तनमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजीबजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चाँसो छ । ‘स्थिर र बलियो सरकार छ । बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ । तर तीन हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन’ उहाँले भन्नुभयो– यस्तो किन भइरहेको छ ? भन्ने जवाफ चाहन्छु ।’

अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विस्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिनुभएको छ । पुँजीबजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि अर्थमन्त्री पौडेलले नेप्सेलाई निर्देशन दिनुभएको हो ।

अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य लगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुगेको हो । 

पुँजीबजारको विद्यमान अवस्थाको जानकारी, नेप्सेले गरिरहेका काम कारबाही तथा सुधारका लागि थाल्नुपर्ने पहलका विषयमा कर्मचारीसँग छलफल पछि राजस्व सचिव घिमिरेले पुँजीबजार सुधारका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो । 

नेप्सेको आन्तरिक संरचनामा सुधार, दक्ष कर्मचारी व्यवस्थापन लगायतका काममा प्राथमिकता रहने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै