काठमाडौँ । नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडिसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौती न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने एक अध्ययनले औँल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) को सहयोगमा हालै गरिएको नेपालको एलडिसी ग्रेजुएसनः डब्लुटिओ दायित्वमा प्रभाव कम गर्न व्यापार नीतिमा सुधार सम्बन्धी अध्ययनमा त्यो कुरा उल्लेख छ ।
अध्ययनले नेपालका लागि कानुनी र नियामक ढाँचामा सुधार गर्नुपर्ने, संस्थागत कार्यविधिमा सुधार गर्नुपर्ने, मानव संसाधनको क्षमतामा सुधार गर्नुपर्ने, निर्यात बजारलाई विविधीकरण गर्नुपर्ने र अन्तर्राष्ट्रिय सहकार्यलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । साथै अध्ययनले गैरभन्सार अवरोधहरू सम्बोधन गर्न राष्ट्रिय क्षमताको सुदृढीकरण, राष्ट्रिय स्तरको विकास, प्रमुख व्यापार साझेदारसँग पारस्परिक मान्यता सम्झौताहरू, नेपाल व्यापार एकीकरण रणनीतिले प्राथमिकतामा राखेका उत्पादन प्रवद्र्धन, स्तरोन्नति भएका अन्य देशको अनुभव लगायतमा ध्यान दिन सकिएमा नेपालका लागि सहयोग पुग्ने सुझाव दिएको छ ।
स्तरोन्नतिपछि आइपर्ने चुनौतीलाई आफ्नो हित अनुकूल अन्तर्राष्ट्रिय व्यापारबाट लाभ लिने क्षमता कायम राख्न नेपालले कानुनी र नीतिगत सुधारलाई तीव्रता दिनुपर्ने र संस्थागत एवं मानव संसाधन क्षमतालाई बलियो बनाउनुपर्नेमा यहाँ आयोजित सार्वजनिक–निजी संवाद कार्यक्रममा सहभागी नीति निर्माताहरू, व्यापार विशेषज्ञ, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरूको साझा धारणा रहेको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपालको स्तरोन्नति तयारीका सम्बन्धमा निजी क्षेत्रले उठाएका चासो र दिएका सुझावप्रति सरकार गम्भीर रहेको उल्लेख गनुभयो । सहसचिव देवराज जोशीले एलडिसीबाट स्तरोन्नति नेपालको लागि चुनौती र अवसर दुवै रहेको बताउँदै यसलाई ध्यानमा राखी नेपालले व्यापारसम्बन्धी नीति र कानुनमा सुधार जारी राख्न आवश्यक रहेको बताउनुभयो ।
अध्ययन प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्दै व्यापारविज्ञ तथा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले कृषि, अनुदान, बौद्धिक सम्पत्तिको अधिकार र व्यापार सहजीकरण सम्झौतासम्बन्धी सम्झौता लगायत विश्व व्यापार सङ्गठनका नयाँ दायित्वहरूको पालना गर्नसक्ने क्षमता नेपालमा हुनुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रका अन्तर्राष्ट्रियविज्ञ अभिजित दासले स्तरोन्नतिसँगै नेपालले अन्तर्राष्ट्रिय व्यापारका कडा नियम सामना गर्नुपर्ने तथा भन्सार सुविधाहरू गमाउने जोखिमबारे सचेत गराउँदै एलडिसीबाटको सङ्क्रमण सहज हुने सुनिश्चित गर्न आवश्यक कार्ययोजना बनाई तयारी थाल्नुपर्नेमा जोड दिनुभयो । नेपाल महिला उद्यमी महासङ्घकी अध्यक्ष शोभा ज्ञवालीले नेपाल स्तरोन्नतिका लागि अझै परिपक्व नभएको उल्लेख गर्दै महिला व्यवसायीले अन्तर्राष्ट्रिय व्यापारमा अधिकतम फाइदा लिनसक्ने गरी तयारीका लागि महिलाको क्षमता बढाउन र सार्वजनिक निजी संवाद व्यापक बनाउन सुझाव जोड दिनुभयो ।
निजी क्षेत्रका अन्य प्रतिनिधिले उत्पादन तथा निर्यात लागत अन्य देशको तुलनामा बढी रहेको कारण नेपाली व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता कम हुन गएको, नेपाली उद्योग जोखिममा जान सक्नेबारे विश्लेषण तथा प्रमुख गन्तव्य मुलुकहरूसँग नेपाली वस्तुका लागि विशेष सुविधाका लागि अनुरोध गर्नुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते