+

चितवनबाट रेशमखेती विस्थापित हुँदै

चितवन । पछिल्लो समय जिल्लाका किसान तरकारीखेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेशमखेती हुनेमा अहिले यहाँका किसान उक्त पेशाबाट विस्थापित भएका हुन् । 

किम्बू नर्सरी विकास केन्द्र भण्डारा चितवनकी कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार माडी क्षेत्रमा पहिला सहकारी र संस्था दर्ता गरेर रेशमखेती गरिने गरिएकामा अहिले किसान यस पेसाबाट पलायन हुँदै तरकारीबालीतर्फ आकर्षित भएका बताउनुभयो । उहाँले भन्नुभयो– ‘रेशमखेतीका लागि लामो समय लाग्ने र व्यवस्थापन झन्झटिलो हुने भएकाले किसानले पेसा परिवर्तन गरेका हुन् ।’

केन्द्रले अहिले व्यावसायिक रुपमा कोया उत्पादन गर्न छोडेको क्षेत्रीले बताउनुभयो । कोया उत्पादन गरेर निजी क्षेत्रलाई दिनुपर्ने तथा बजार समस्या हुँदा व्यावसायिक रुपमा उत्पादन गर्न छोडेको उहाँको भनाइ छ । शुरुमा मकवानपुर र चितवनमा रेशम खेतीको प्रशस्त उत्पादन भए पनि अहिले उत्पादन घट्दै गएको उहाँले जानकारी दिनुभयो ।  

नेपालमा उत्पादित रेशम धागोको बजारीकरण नहुँदा व्यवसायी पलायन भएका प्रमुख क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बाहिरबाट रेशमको धागो आयात हुन्छ । यहाँको धागोको पहिचान हुँदैन । बजार अभाव हुँदा पेसा नै सङ्कटमा परेको छ ।’ बजार व्यवस्थापनमा समस्या हुँदा लामो समयसम्म कुर्नुपर्ने र राम्रो उत्पादन भए पनि बिग्रने हुँदा यसतर्फ किसानको आकर्षण घटेको उहाँको भनाइ छ ।

जिल्लामा रेशमखेती गर्ने किसान अहिले छिटो आम्दानी हुने नगदेबालीतर्फ आकर्षित भएका क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अहिले केन्द्रमा उत्पादित किम्बूका बिरुवा २० प्रतिशत पनि रेशम खेतीका लागि जान मुस्किल छ ।’ उहाँका अनुसार केन्द्रले यसवर्ष ५ लाख बिरुवा उत्पादन गरेको छ । 

अहिले गर्मी बढेकाले चार लाखसम्म बिक्री गर्ने योजनामा केन्द्र रहेको प्रमुख क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार करिब ६ हेक्टर क्षेत्रफलमा किम्बू नर्सरी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित किम्बूका बिरुवा सिन्धुली, गोरखा, काठमाडौँ लगायत जिल्लामा जाने गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै