
पर्वत । जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका–९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् ।
परम्परागत र निर्वाहमुखी रुपमा आलुको खेती गर्दै आएका किसान यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । कोदो र आलुमात्र उत्पादन हुने बनौमा धानखेती निकै कम हुन्छ । अहिले यहाँका बासिन्दाले आलु र कोदोखेती गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्रको खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषक बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणका साथै प्राविधिक सहयोग पाएपछि व्यावसायिक रुपमा यो खेतीमा लागेका हुन् । अहिले बनौ गाउँमा मात्र चार सय रोपनी क्षेत्रफलमा आलुको खेती गरिएको छ । बनौमा रहेका दुई आलु उत्पादक समूहमा आवद्ध ७३ किसानले सामूहिक रुपमा आलु उत्पादन थालेका हुन् ।
विगतमा एक रोपनी क्षेत्रफलबाट कम्तीमा पाँच मुरी आलु उत्पादन हुने गरेकामा अहिले दोब्बर उत्पादन हुने स्थानीय मणिबराह कृषि समूहका अध्यक्ष टकबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले लगाइएको चार सय रोपनी क्षेत्रफलबाट पहिलेभन्दा दोब्बर उत्पादन हुने अपेक्षा गरिएको छ ।
समूहमा आवद्ध भएका किसानले न्यूनतम एक लाखदेखि १० लाख रुपैयँँसम्म आलु बिक्री गरेर आम्दानी गर्ने भएका छन् । उत्तरी भेगतर्फ फर्किएको बनौको गाउँमा आलुको राम्रो उत्पादन हुने र खानका लागि स्वादिलो र गुणस्तरीय समेत हुने किसान पुर्जाले बताउनुभयो । बनौमा परम्परागत बीउ नै लगाइएको छ ।
चालु आर्थिक वर्षदेखि शुरु भएको खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत यस वर्ष करिब दुई हजार किसानले व्यावसायिक रुपमा आलुखेती गरेका छन् । अहिले आलु खन्ने र थन्क्याउने बेला भएकाले केही दिनमा कति उत्पादन भयो भन्ने यकिन तथ्याङ्क आउने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिृकत शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार प्राविधिक ज्ञानसँगै किसानले आधुनिक तरिकाले आलुखेती गर्न थालेपछि उत्पादनसमेत बढेको छभने कृषक समेत उत्साहित भएका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार यो कार्यक्रमअन्तर्गत हिउँदे याममा गरिएको आलुखेतीमा जिल्लाभरका १ हजार ८ सय २१ किसानले व्यावसायिक रुपमा आलुखेती गरी आम्दानी गर्न सफल भएका छन् । बर्खेयाममा यसको आधा सङ्ख्यामा किसानले आलुखेती लगाएका छन् ।
किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । आलु प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको थियो । बजेटबाट किसानलाई आलुको बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणमा अनुदान उपलब्ध गराइएको अधिकारीले बताउनुभयो ।
कार्यक्रमको लक्ष्य यो आर्थिक वर्षमा एक सय २५ हेक्टरमा आलुखेती विस्तार गर्ने भनिए पनि किसानको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको हो । पहिलो याममा एक सय चार हेक्टरमा क्षेत्रफलमा गरिएको आलुखेतीबाट दुई हजार छ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ । त्यसबाट किसानले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट ५ करोड आम्दानी गरेका छन् ।
बर्खे आलुका लागि ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । यसको उत्पादन र आम्दानीको तथ्याङ्क असार अन्तिम सातासम्म आइपुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । सबैभन्दा बढी आलु जिल्लाको जलजला गाउँपालिकामा उत्पादन भएको केन्द्रले जनाएको छ ।
पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योति, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेट्रिकटनसम्म उत्पादन भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिनुभयो ।
यसबाट उपभोगका लागि किसानलाई खरिद गर्न नपर्नाका साथै बिक्री वितरणबाट पनि राम्रो आम्दानी गरेको पौडेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी
- दुर्गा प्रसाईले आसाममा गरे आत्मसमर्पण, काठमाडौं ल्याइदै