
काठमाडौँ । निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवद्र्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई भेटेर स्थानीय उत्पादनको एकीकृत प्रवद्र्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आग्रह गरेको हो । चेम्बरले विप्रेषणबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई आग्रह गरेको छ ।
विप्रेषणको करिब ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले संसदमा विचाराधीन आर्थिक विधेयकलाई तत्काल पारित गर्नका लागि भूमिका खेल्न आग्रह गरेको छ ।
‘सरकारले आगामी वैशाख तेस्रो साता अन्तरराष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐननियमहरु बाधक रहेकाले समयमै समस्या हल गर्नुपर्छ’ अध्यक्ष मल्लले भन्नुभयो । वर्तमान समयमा कालोबजार ऐन, २०३२ का कतिपय प्रावधान असान्दर्भिक भएकाले समयसापेक्ष सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।
चेम्बरले स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवं वनजन्य उद्योगमा आवश्यक कानुन बनाई निर्यात प्रवद्र्धन गरिनुपर्ने जनाएको छ । बजार अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन चेम्बरले मन्त्रीसमक्ष आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै