
नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवलाई किस्पाङ गाउँपालिका–४ साल्मेका तामाङ समुदायद्वारा प्रस्तुत घोडा नाचले आकर्षित बनाएको छ ।
तामाङ समुदायको उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यतासँग जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा प्रस्तुत गरिएको हो । आधुनिकतासँगै हराउँदै गएको नाचलाई संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारको लागि किस्पाङ –४ मा सङ्गम छेज्यु सांस्कृतिक मेला एवं घोडा नाच प्रदर्शन समूह स्थापना गरेर पर्वमा अभ्याससहितको प्रदर्शनी थालिएको हो ।
परापूर्व समयदेखि छेच्युअन्तर्गत समूहमा खेलिने ऐतिहासिक घोडा नाच लोपोन्मुख अवस्थामा पुगेसँगै हाल स्थानीय सरकारको सहयोगमा संरक्षणमा जोड दिइएको किस्पाङ–४का वडाध्यक्ष बिनोद तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार घोडचढीको सन्दर्भका यथार्थ चित्रणलाई जोडेर घोडा नाचको प्रचलनलाई निरन्तरता दिइएको हो ।
‘मञ्जुश्री संवत्अनुसार तामाङ समुदायको नयाँ वर्षको अवसरमा मनाइने छेज्यु पर्वमा देखाइने चेमामध्येको एक तपु स्यप (घोडचढी नृत्य) मौलिक संस्कृति हो’ उहाँले भन्नुभयो– ‘घोडचढी नाचमा सैनिकको आकृति र स्वरूप दिन दाँया हातमा तरबार, बायाँ हातमा ढाल र अनुहारमा रङ लगाएर प्रतिस्पर्धा गरिन्छ । अन्य सहायक सैनिकको हातमा भाला, धनुषलगायतका युद्धकौशलका सामग्री हुन्छ ।’
घोडचढी बनेर नाच्न मानिसले शरीरका दुवैतर्फ काठ बाँधी घोडाको आकृति बनाएको हुनाले दृष्य र प्रस्तुत रोमाञ्चक मानिने गरिएको छ । नाचको नेतृत्वले झ्याम्टा र ढ्याङ्ग्रोको तालमा दुवैतर्फबाट लामा सहभागी हुने भएकाले यस नाचलाई समूहमा प्रस्तुत गर्ने गरिएको साल्मेका ज्येष्ठ नागरिक चोक्ता लामाले जानकारी दिनुभएको छ ।
‘नाचमा सहभागीको सङ्ख्याको निर्धारण आवश्यकता र उपलब्ध जनशक्तिअनुसार गरिन्छ’ उहाँले भन्नुभयो– ‘सेता वस्त्र धारण गरेका गोरखाली राजा (गोर्खइ ग्यल्पो) र रातो वस्त्र धारण गरेकालाई तिब्बती राजा (ल्हसई देव) भनिन्छ ।’ शालिन रुपमा हुने प्रस्तुतिमा घोडाको उत्पत्ति कहाँ भएकोबाट शुरु भएर क्रमशः युद्धमा परिणत हुँदै दुवै पक्षको जितको निष्कर्षसहितको समापन गर्ने भएकाले घोडानाचमा सद्भाव र युद्धको समिश्रण पाइने घोडा नाचको संरक्षणमा जुट्नुभएका लामाको भनाई छ।
‘वीर रसमा आधारित नृत्य भएको हुँदा युद्ध, लखेटालखेट, काटमार र लुकिछिपीको अभिनयले नाचलाई आकर्षण र अवधि बढाउछ’ उहाँले भन्नुभयो– ‘गोरखाली राजहरु डसङमा प्रवेश गर्नासाथ तिब्बती राजा युद्धमा होमिन्छन् । तेस्रो पटकको युद्धमा ‘कसैले पनि नहारे’ निष्कर्षमा सहमति जुट्दछ ।’
गोर्खालीले आफ्नो चामलसँग तिब्बतीको नुन साटेर मित्रवत् व्यवहार गर्दै संयुक्त विजय उत्सव मनाएर घोडा नाचको ‘युद्ध नृत्य’ अन्त्य हुन्छ । यसबाट तामाङ समुदायको उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यता जोडिन्छ ।
युद्ध तथा अन्य कारणले दिवङ्गत भएका व्यक्तिको भड्किएको आत्माको चिरशान्तिको कामना र कुलदेवता खुशी बनाई समाजमा सुख एवं शान्ति मिल्छ भन्ने विश्वासमा नुवाकोटको किस्पाङ गाँउपालिका–४ साल्मेमा हरेक वर्ष माघ ३ गतेदेखि ७ गतेसम्म छेज्यु पर्व मनाइने गरिएको छ । पर्वमा घोडा नाचलाई अनिवार्य सामेल गराइन्छ ।
नुवाकोटको किस्पाङसहित म्यागङ गाउँपालिका र रसुवा र धादिङमा घोडा नाचको प्रस्तुती देखाइने गरिएको छ । आधुनिकतासँगै हराउँदै गएको संस्कृतिले असर पु¥याएसँगै किस्पाङ गाउँपालिकाले मेला महोत्सवसहित औपचारिक कार्यक्रममा घोडा नाचलाई सहभागी गराउन थालिएको उपाध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो ।
‘तामाङ समुदायले छेज्यु, ल्होछार र अन्य औपचारिक कार्यक्रममा घोडा नाच नाच्ने चलन भए पनि हराउँदै गएपछि स्थानीय सरकारले संरक्षणमा लागेको छ । मृत्यु संस्कारको घेवा कार्य समेत पाँच दिने गरेर चेमा खेलाउने भएमा घोडा नाच अनिवार्य रहेको तथ्यलाई समेत उजागर गर्दै संस्कार र संस्कृतिमा स्थानीय सरकारले सहयोग पु¥याउने छौँ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा