+

हिमाल कालादेखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले हिमाल कालादेखिन थाल्नु नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण रहेको बताउनुभएको छ । ‘सहारा नेपाल’ र ‘कोकाकोला फाउण्डेसन’ ले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उहाँले हिमाल जोगाउन सचेत हुनुपर्नेमा जोड दिनुभयो । 


‘हिउँले ढाकिने माछापुच्छ्रे हिमाल केवल कालोपत्र जस्तो मात्र देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष प्रमाण हो । यो समस्या केवल माछापुच्छ्रेमै सीमित छैन, सम्पूर्ण हिमाली क्षेत्रमा हिउँको मात्रा घट्दै जानु प्राकृतिक चक्रमा गम्भीर असर परिरहेको सङ्केत हो’ घिमिरेले भन्नुभयो– ‘यसले पानीका मुहान सुकाउने र मानिस तथा जनावरको जीवनयापनमा कठिनाइ सिर्जना गर्ने काम गरेको छ ।’

विश्वका समृद्ध तथा औद्योगिक राष्ट्रले अत्यधिक मात्रामा उत्सर्जन गरेको कार्बनको प्रत्यक्ष असर हाम्रो प्राकृतिक सम्पदामा परेको उहाँको भनाइ छ । बढ्दो कार्बन उत्सर्जनका कारण पृथ्वीको तापक्रम वृद्धिले नेपाललाई गम्भीर रूपमा प्रभावित बनाएको भन्दै सभामुख घिमिरेले नेपालको वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि निरन्तर प्रयासरत रहनुपर्नेमा जोड दिनुभयो ।  

‘जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीका सामाना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारको सहकार्य अपरिहार्य छ’ उहाँले भन्नुभयो– ‘विशेषगरी, जीवनयापन सङ्कट भोगिरहेका समुदायलाई सहयोग पुर्‍याउने तथा वातावरणीय क्षति न्यून गर्नका लागि योजनाबद्ध प्रयास आवश्यक छ ।’ जलवायु परिवर्तनको समाधानमा जनप्रतिनिधिको भूमिका पनि अपेक्षित रहेको सभामुख घिमिरेको भनाइ छ । उहाँले संसद् र सांसदहरूले जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण पहल गरिरहेको जानकारी गराउनुभयो । 

‘क्लाइमेट पार्लियामेन्ट’ जस्ता अन्तर्राष्ट्रिय फोरममार्फत नेपालको संसद् र सङ्घीय संसद्का सदस्यले जलवायु नीति निर्माण, नवीकरणीय ऊर्जाको प्रवर्द्धन र वातावरणीय सुधारका लागि आवश्यक पहल गरिरहेका छन्’ घिमिरेले भन्नुभयो– ‘नवीकरणीय ऊर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरित बजेट विनियोजनका कार्य संसदमार्फत अघि बढिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै