
काठमाडौँ । कवि अर्जुनबाबु दाहालको कविताकृति ‘हिँड्न बाँकी बाटाहरु’ सार्वजनिक भएको छ ।
‘प्रिय दुश्मन !
तिमीले मेरो बाटो नछेकेको भए
मैले बाटाहरु खोज्ने थिइनँ सायद
एउटा बाटो तिमीले छेक्दा
आज सयौँ बाटाहरु छन् मेरा अगाडि’
कवि दाहालको ‘हिँड्न बाँकी बाटाहरु’को प्रिय दुश्मन शीर्षकबाट लिएको कविताको एक हरफ हो यो । पेशाले आयुर्वेदिक स्वास्थ्यकर्मी दाहाल गीत, कविता सिर्जना एवं कला विधामा रमाउँदै हुर्कनुभएको हो । उहाँलाई कवितामा जीवनदर्शन हुनुपर्छ भन्ने लाग्छ ।
‘गद्य शैलीमा लेखिएको रचनामा जीवनवादी दृष्टिकोण स्पष्ट रुपमा देखिएको छ’ साहित्यकार चन्द्र ढकालले भन्नुभयो– ‘आमाको काख र गाउँप्रति मोह प्रस्तुत गर्दै सबै मानिसहरु नैतिकवान हुनुपर्नेतर्फ इङ्कित गरेर मानिसमा निच प्रवृति हटाउनुपर्नेमा जोड दिइएको छ ।’ कवि दाहालको उक्त कृतिमा ५६ वटा कविता छन् । कवितामा शील्प, दृष्टिकोण, वस्तुहरुको संयोजन, अतित मोह देखिन्छ ।
‘कवितामा तुलसी, नीम, यार्सागुम्बा, जेठीमधुजस्ता जडीबुटीका विषयवस्तु समेटिएका छन्’ साहित्यकार भारती न्यौपानेले भन्नुभयो, ‘रचनामा वर्गीय चेत पनि देखिएको छ, निम्न र माथिल्लो वर्गले भोग्नुपरेका पीडालाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।’
साहित्यकार हेम भण्डारीलाई कवितामा जीवन्त र मौलिक विचार हुनुपर्छ भन्ने लाग्छ । ‘कवितामा मौलिक विचार हुनुपर्छ, त्यो अनुरुप दाहालका कविता मौलिक र व्यावहारिक ज्ञानमा आधारित छन्’ उहाँले भन्नुभयो– ‘आयुर्वेदिक चिकित्सकका रुपमा उहाँले रचना गरेका कविता जीवन उपयोगी छन् ।’
कवितामा चिन्ता, चिन्तन र चैतन्य सबै भएको आफूलाई अनुभव भएको सुनाउँदै साहित्यकार डा नवराज लम्सालले भन्नुभयो, ‘उज्यालो खोज्दै गाउँबाट सहर पस्नेहरुको मनोद्वन्द्व र सङ्घर्ष हिजोदेखि आजसम्म उस्तैउस्तै पाउँछु, मनोद्वन्द्व कै दलदलमा सृजनाको लत बस्यो भने सृजनाकै सिर्कनाले हृदयमा हान्छ र दुख्छ पनि ।’
नाटकार पुरु लम्साल, साहित्यकार युवराज नयाँघरे, कवि निमग्ना घिमिरेले दाहालका कविता जीवन उपयोगी भएको अनुभव सुनाउनुभएको थियो । ‘कलमका साथी’ नामक संस्थाले उक्त कृतिमाथिको विमर्श गरेको थियो । लेखक कवि दाहालले आफ्नो कर्म र भोगाइका अनुभवलाई प्रकाशन गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । ‘मैले धेरै कविता लेखे, यस्तो पनि कविता हुन्छ भनेर कति च्यातेर फाले’ उहाँले अनुभव सुनाउनुभयो– ‘मैले लेखेका कविता आज प्रकाशन गरेर छलफल गर्न पाउँदा खुशी लाग्यो ।’
सङ्खुवासभामा जन्मिनुभएका कवि दाहाल पेसा र लेखनमा फरकफरक बाटोमा आफूलाई हिँडाइरहनुभएको छ । उहाँका फुटकर गीत, कविता, समसामयिक समीक्षा र समालोचनाहरु प्रकाशन भइसकेको छन् । उहाँले गीत सङ्ग्रह प्रकाशन गर्ने तयारी गरिरहनुभएको छ । कवि दाहाललाई जीवन अमूल्य भएको हुँदा आत्महत्याको बाटो रोज्नुहुँदैन भन्ने लाग्छ । जसलाई उहाँले कवितामार्फत उहाँले यसरी व्यक्त गर्नुभएको छः
‘तिमी आत्महत्याको बाटो लाग्नुअघि सम्झ त
तिमी नहुनु भनेको बालाई के नहुनु हो ?
आमालाई के नहुनु हो ?
तिमी पनि त ईश्वरको अंश को
अंश आफैँ असमयमा झरेर जाँदा
ईश्वरलाई के हुनु हो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन