
भोजपुर । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ। सडकको पहुँच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला शहरका भान्सामा पुग्न थालेको हो ।
टेम्केमैयुङ गाउँपालिका–५ चोलन्ती, मझौलेका स्थानीयले वनजङ्गलबाट सङ्कलन गरेको निगुरो अहिले धरान, इटहरी, विराटनगर, झापा, काठमाडौँ लगायतका शहरमा जाने गरेको छ । सङ्कलित निगुरो गाउँघरबाट नै बिक्री हुने स्थानीयवासी रमेश विष्टले बताउनुभयो । विगतमा त्यतिकै वन, पाखा खोलाखोल्सीमा खेर गइरहेको निगुरोले अहिले गाउँघरबाट नै बिक्री भइरहेको छ ।
हालसम्म यो क्षेत्रबाट करिब २ हजार ५ सय किलो निगुरो निर्यात भएको उहाँको भनाइ छ । वन, जङ्गल, खोलाखोल्सी तथा चिस्यान क्षेत्रमा पाइने निगुरो कात्तिक, मङ्सिर महिनासम्म सङ्कलन गर्न सकिने उहाँले बताउनुभयो ।
‘सडकको पहुँच विस्तारसँगै गाउँघरका कृषिउपजलाई बाहिरका शहर बजारमा सहज भएको छ’ उहाँले भन्नुभयो, ‘निगुरो बिक्री होला भन्ने लागेको थिएन । तर अहिले खेर गइरहेको निगुरो बिक्री भइरहेको छ । याममा निगुरो बिक्री गरेर सामन्य रुपमा घर खर्च चलाउने अवस्था बनेको छ ।’
गाउँघरमा सङ्कलन गरिएको निगुरो प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । एक जना कृषकले एक दिनमा ३० देखि ४० केजीसम्म निगुरो सङ्कलन गर्ने उहाँको भनाइ छ । पात भएकोभन्दा डाँठ मात्र भएको निगुरोले राम्रो मूल्य पाउने उहाँले बताउनुभयो ।
स्थानीयवासीले वर्षात् याम शुरु भएपश्चात् जेठ असारदेखि कात्तिक, मङ्सिर महिनासम्म निगुरो बेच्दै आएका छन् । वन, जङ्गलमा सजिलै पाइने, निगुरो अर्गानिक हुने भएकाले सहरका मानिसको रोजाइमा पर्ने गरेको छ । तराईमा पाइने निगुरोभन्दा पहाडी क्षेत्रबाट जाने डौँठे निगुरोको बजारमा राम्रो माग रहेकोे स्थानीयवासी लालबहादुर विष्टले बताउनुभयो ।
उन्याउ प्रजातिमा पर्ने निगुरो पहाड र तराई सबैतिरका वन, जङ्गल तथा खोलाखोल्सीमा पाइने वनस्पति हो । निगुरो पहाडी क्षेत्रमा बढीमात्रामा पाइने भए पनि यहाँका गाउँघरका स्थानीयले भने कमैले मात्र खाने गरेका छन् ।
जैविक र मौसमी तरकारी निगुरो पौष्टिकताले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि फाइदाजनक रहेको पोषणविद्हरुको भनाइ छ । निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइने भएकाले बालबालिका तथा गर्भवतीलाई धेरै लाभदायक हुने उनीहरुको भनाइ छ ।
स्थानीयस्तरमा पाइने निगुरो बाहिरका बजारसम्म निर्यात हुने गरेकाले यसको उत्पादन र बजारीकरणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजनाबद्ध रुपमा काम गर्दै आएको उपाध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाभित्रका धेरै क्षेत्रमा निगुरो पाइने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन