
काठमाडौँ । विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समावेश गराइएका चलचित्र नेपालमा प्रदर्शनको तयारी गरिएको छ । फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ आगामी चैत ३० गते तथा नवीन सुब्बा निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ २०८१ साल जेठ १८ गते प्रदर्शन गर्ने तय गरिएको निर्माण पक्षले जनाएको छ ।
गत सेप्टेम्बरमा सम्पन्न भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसको पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) भएको ‘द रेड सुटकेस’ मा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको निर्देशक देवकोटाले जानकारी दिनुभएको छ । ‘विश्वका प्रतिष्ठित महोत्सवमा रुचाइएको चलचित्रलाई नेपालमा कस्तो प्रतिक्रिया प्राप्त हुन्छ ? यसको प्रतीक्षामा छौँ’ उहाँले भन्नुभयो ‘किनकी यो कथा विश्वले हेर्नुपर्छ भन्ने लागेको थियो । त्यो सपना साकार भयो । अब यो कथा घर फर्किएको छ ।’
जर्मनीको म्यानहाइम हाइडेलवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, स्विट्जरल्यान्डको जुरिच चलचित्र महोत्सव तथा भारतको मुम्बई चलचित्र महोत्सवमा यसको प्रदर्शनी भइसकेको छ । श्रीलङ्कामा सम्पन्न जाफ्ना अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट नव चलचित्र’ को पुरस्कार (अवार्ड) प्राप्त गरेको निर्देशक देवकोटाले जाकारी दिनुभयो ।
देवकोटाले नै लेख्नुभएको चलचित्रमा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठलगायत कलाकारले अभिनय गर्नुभएको छ । यसमा सुशन प्रजापतिले छायाङ्कन र समन अलभितिगाले सम्पादन गर्नुभएको छ ।
विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ २०८१ साल जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन गरिने निर्माण पक्षले निर्णय गरेको छ । दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’ लाई प्रसिद्ध निर्देशक नवीन सुब्बाले निर्देशन गर्नुभएको छ । राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको सो चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिनुभएको छ ।
‘अन्तर्राष्ट्रिय बजारमा देखायौँ । अब नेपाली दर्शकले पनि हेर्न खोज्दैछन्’ निर्देशक सुब्बाले भन्नुभयो । चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गर्नुभएको छ । महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लीले सङ्गीत भर्नुभएको छ । निर्देशक सुब्बाले निर्देशनको सुरुआत गर्नुभएको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उहाँद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कर्मचारी खटाएर परीक्षा लिएमा कापी जाँच नगर्ने शिक्षक महासंघको घोषणा
- आन्दोलन अझै चर्काउन शिक्षकहरुलाई प्रचण्डको सुझाव
- सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
- ‘प्रधानमन्त्रीको असफलताको भारी शिक्षामन्त्रीलाई बोकाउन खोजियो’
- आज पनि सडकमा ‘नाच्दैगाउँदै’ शिक्षकहरु
- ब्राजिलियन फुटबल खेलाडी रोबर्टो कार्लोस नेपालमा
- भारतीय विद्युत् मन्त्री काठमाडौँमा
- कर्मचारी परिचालन गरेरै भएपनि कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा गर्ने
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती