+

संस्कृति संरक्षणमा बालबालिकादेखि वृद्धवद्धासम्म सक्रिय

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० वर्षका सायुज फगामी पुर्ख्यौली नाचमा मादले बनेर नाच्नुहुन्छ । वडा अध्यक्ष समेत रहनुभएका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिक्नुभएका सायुज विगत एक वर्षदेखि पुर्ख्यौली नाच समूहमै आवद्ध हुनुभएको छ । गाउँमा हुने हरेक सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने पुर्ख्यौली नाच र प्रतियोगितामा समेत उहाँ मादले बनेर सहभागी हुने गर्नुभएको छ । 

सायुज मात्रै होइन भुरुङकै ९ वर्षका कुशल फगामी पनि पुर्ख्यौली नाचमा मारुनी बनेर सहभागी हुने गर्नुभएको छ । भुरुङ तातोपानीको पुर्ख्यौली समूहमा मादले र मारुनीको भूमिकामा रहेका दुई बाल कलाकारको छमछमी नाचले धेरैको ध्यान तान्ने गरेको छ । पुर्ख्यौली नाच पुनमगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिन्छ । पुर्ख्यौली नाचमा अहिले बालबालिका, युवायुवती, प्रौढदेखि वृद्धवृद्धासम्मका चार पुस्ता सहभागी हुने गर्छन् । पुर्ख्यौली नाचलाई अन्तरपुस्ता हस्तान्तरण गरेर संरक्षण गर्न यहाँ, स्थानीयवासी, अग्रज कलाकार, वडा कार्यालय र अन्नपूर्ण गाउँपालिकाले सक्रियता बढाएका छन् । 

पुर्खाले सिर्जना गरेको मौलिक संस्कृति लोप भएर जाने अवस्था आएपछि आफुले समेत मादले मारुनी नाच सिकेर संरक्षणमा जुटेको भुरुङ तातोपानीका वडा अध्यक्ष फगामीले बताउनुभयो । ‘पुराना कलाकार सकिँदै जाँदा पुर्ख्यौली पनि हराएर जाने अवस्था आउन थालेको थियो, हामीले नै नसिके भोलिका पुस्तालाई कसले सिकाउँछ ? भनेर पुर्ख्यौली नाच सिकेका हौँ, अहिले नयाँ पुस्तालाई सिकाउन थालेका छौँ’ वडा अध्यक्ष फगामीले भन्नुभयो ।
 
अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दाना, नारच्याङ, लेकगाउँ, पाउद्धार, स्वाँत, खिबाङ, शिख, हिस्तान, औल, रिम, घराम्दीलगायतका बस्तीमा पुर्ख्यौली नाच प्रचलनमा रहेको छ । यस क्षेत्रमा बच्चा जन्मिएको छैटौँ दिनमा गरिने छैटी, भात खुवाउने दिन, छेवर, गुनिउचोली,  विवाह लगायतका संस्कारजन्य कार्यक्रममा सोरठी भाकामा पुर्ख्यौली नचाउने चलन रहेको छ । कतिपय ठाउँमा मृत्यु संस्कारमा समेत सोरठी भाकामा दुःख, पीर, वेदना, जीवन भोगाई र सङ्घर्षका गीत गाएर सान्त्वना दिने प्रचलन समेत रहेको छ । 

आफ्ना पुर्खाले चलाउँदै आएको पुर्ख्यौली संस्कृतिको मौलिकता मासिने डरले अन्नपूर्ण गाउँपालिकाका स्थानीय पुर्ख्यौली सोरठी भाका र मादले मारुनी नाचको संरक्षणमा जुटेका छन् । यहाँ वृद्धवृद्धादेखि बालबालिकासमेत पुर्ख्यौली संस्कृतिमा सहभागी हुने गर्छन् । नयाँ पुस्तालाई पुरानो संस्कृति दिनकै लागि पुराना कालकार पुर्ख्यौली नाच्ने र गाउनेमा कम्मर कसेर लागेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका पुराना कलाकार चन्द्रप्रसाद फगामीले बताउनुभयो । 

‘‘मैले पनि अग्रजबाट सिकेको हुँ, बुढ्यौली लाग्यो तर पुर्ख्यौलीको माया लाग्छ, कतै युवाहरुलाई सिकाउन सकिएन भने हराएर जाने त होइन भन्ने चिन्ताले अझैपनि मादले बनेर नाच्ने गर्छु, सोरठी र सिरफुले पनि गाउन सक्छु’–फगामीले भन्नुभयो । नारच्याङका वडा सदस्य समेत रहनुभएका लेकगाउँका युवा श्याम पुर्जाले आधुनिक सूचना प्रविधिको पहुँच र आयातीत संस्कृतिका कारण स्थानीय स्तरमा रहेका पुर्ख्यौली संस्कृति ओझेलमा परेकाले आफु समेत पुर्ख्यौली नाचमा सहभागी हुन थालेको बताउनुभयो ।
 
उहाँले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रमदेखि मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा पुर्ख्यौलीलाई प्राथमिकता दिन थालेको जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका– १ दोबाका पुराना कालकार गमबहादुर पुर्जाले ठाउँ अनुसार गीतको भाका र नाचको ताल फरक फरक पर्ने भएपनि पुर्ख्यौली संस्कृति मौलिक जीवन्त संस्कृतिको रुपमा रहेको बताउनुभयो । ‘‘यो नाच र गीतको इतिहास लामो छ, एक पुस्ताबाट अर्को पुस्ता हुँदै आजसम्म जीवन्त रहेको पुर्ख्यौली संस्कृतिलाई आगामी पुस्तामा समेत पु¥याउन जरुरी छ’ उहाँले भन्नुभयो ।
 
दोबा पुर्ख्यौली समूहका अर्का कलाकार पदमबहादुर पुर्जाले पुर्ख्यौली संस्कृतिमा मादले–मारुनी नाच नयाँ पुस्ताले सिक्न थालेपनि सोरठी भाकामा गीत गाउने सीप भने अझै नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बताउनुहुन्छ ।‘‘ ‘सोरठी गाउन स्वरमात्रै दिएर हुँदैन, गीतका कथा र भाका पनि गाउन जान्ने हुनुपर्छ, त्यसको लागि धेरै मेहनत गर्नुपर्छ, अहिलेसम्म युवा पुस्ता नाच्न सक्ने भएका छन्, गाउन भने पुरानै कलाकार जुट्नुपर्छ’ –पुर्जाले भन्नुभयो । कला संस्कृतिको क्षेत्रमा पुर्ख्यौली नाच आफैँमा अनौठो संस्कृतिको रुपमा रहेको छ । 

यो नाचको सुरुवातमा मादलको तालमा सरस्वती जगाउने गरिन्छ । यसरी देवी देवतालाई सम्झेर सरस्वती जगाउँदा धेरैजसोको शरीरमा सरस्वती चढेर काम्ने गर्छन् ।  ‘पहिला देवीदेवता बनाउँदा देउताले छुनेहरु आफँै काम्न थाल्छन्, मादलको २२ ताल बजाएर देवतालाई बाचा फुकाएपछि स्वतस्फुर्त उनीहरु सामान्य अवस्थामा आउँछन्’– पुराना कलाकार चन्द्रप्रसाद फगामीले भन्नुभयो । पुर्ख्यौलीमा कम्तीमा चार÷चार जना मादले र मारुनी नाच्ने गर्छन् । 

पुरुषको पोशाक लगाएका मादले कम्मरमा मादल भिरेर बजाउँदै नाच्छन् भने महिलाको पुर्ख्यौली वेषभुषामा सजिएका पुरुष नै मारुनी बनेर नाच्ने गर्छन् । पुर्ख्यौलीमा मुख्य गीत निकाल्ने गिताङ्गेले पुराना राजा रानी र देवी देवताका कथा सँगै माया, प्रेम र आफ्नो पुर्खाका दुःख–सुखलाई समेटेर सोरठी गीत गाउने गर्छन् भने महिलाको समूहले लामो स्वरमा हाइ भरेर साथ दिने गर्छन् । पुर्ख्यौली नाचमा मादले, मारुनी, सोरठी गाउने र हाइ मार्नेलगायतको भूमिकामा कम्तीमा २० जना बढी सहभागी हुने गर्छन् । 

मौलिक चिनारीको रुपमा रहेको पुर्ख्यौली संस्कृतिको संरक्षणमा जागरण ल्याउन पहल थालेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो । ‘यो वर्ष भुरुङमा पालिका र वडा कार्यालयको समन्वयमा पुर्ख्यौली नाच प्रतियोगिता नै सम्पन्न गरेका छौँ, यसले पुर्ख्यौलीको विविधताको एक अर्कामा सिकाईसँगै नयाँ पुस्तामा संस्कृतिको सीप विकासमा सघाएको हामीले विश्वास लिएका छौँ, यस्ता कार्यक्रमलाई हामीले आगामी वर्षमा समेत निरन्तरता दिनेछौँ’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै मौलिक कला, संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर कला र संस्कृतिको विकास, प्रवद्र्धन र प्रचार प्रसारमा जुट्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट