दाङ । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उहाँ शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेशामा लागिरहनुभएको छ ।
‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उहाँ अरु सबै काम छोडेर यही पेशामा रमाइरहनुभएको छ । ‘शिक्षण पेसा अथवा अन्य कुनै जागीर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिए । अहिले यसमै रमाइरहेको छु’ खनालले भन्नुभयो– ‘कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदैगएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।’
शुरुवाती दिनमा चार लिटरबाट दूध बेच्न सुरू गर्नुभएका उहाँले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहनुभएको छ । त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रिविरण गर्दै आएको बताउने उहाँलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाजापाँजो मिलाउन भ्याइनभ्याई छ । परिवारको सहयोग र आफ्नो मेहनतले ४० हजार रुपैयाँबाट शुरू गरिएको व्यवसायमा अहिले ६० लाख रुपैयाँ लगानी पुगेको खनालको भनाइ छ । शुरुवाती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गथ्र्यो तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ । अहिले मासिक एक लाख रुपैयाँ को कारोबार गरिरहेको छु भने वार्षिक रूपमा करिब ७ लाख रुपैयाँ सम्म बचत हुने गरेको छ’ खनालले भन्नुभयो ।
उहाँले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताउनुभयो । उहाँ स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उहाँको बुझाइ छ ।
उहाँ व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशीन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा राख्नुहुन्छ । किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उहाँको विश्वास छ । त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानुन बनाउनसकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उहाँले बताउनुभयो । ‘मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारण जिल्लामा विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर विदेशीन थालेका छन् । यसलाई रोक्न जरूरी छ’ उहाँले भन्नुभयो ।
डेरीलाई प्रतिलिटर ७० मा बिक्री गर्नुहुने उहाँको सबैभन्दा ठूलो चित्त दुखाइ आफैँले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा सङ्लग्न हुन नपाउनुमा छ । ‘हामीले नाफाघाटा, दुःखकष्ट सहेर उत्पादन गर्छौ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ’ खनालले गुनासो गर्नुभयो ।
खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उहाँ लगायत घोराही उपमहानगरपालिका–२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते
- दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
- सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक छ : अध्यक्ष दाहाल
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर